काठमाडौँ – उपसभामुख इन्दिरा रानाले आफूले सदन र पदको गरिमामा आँच आउने कुनै पनि काम नगरेको प्रष्टीकरण दिएकी छन्।
अमेरिकामा एक कार्यक्रममा सहभागी हुन आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताका लागि नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्र लेखेर पदको दूरुपयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उपसभामुख रानाले आफूले पदको गरिमामा आँच आउने काम नगरेको प्रष्टीकरण दिएकी हुन्।
उनले भनेकी छन्, ‘मैले आजसम्म सम्मानित सदन र पदको गरिमामा आँच आउने गरी कुनै पनि काम गरेको छैन र गर्ने पनि छैन। उपसभामुखका रूपमा मैले अमेरिकालगायत अन्य देशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा नेपालको प्रतिनिधित्व गर्दै समानता, सामाजिक न्याय र पिछडिएका वर्गको तर्फबाट निरन्तर आवाज उठाइरहेको जगजाहेर छ।’
उनले आफूले अमेरिकाकी राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन मात्र अनुरोध गरेको बताएकी छन्।
‘मलगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूताबासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ उनी भन्छिन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूताबासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन।’
करुणाभावले सहयोग गर्न खोजेको भए पनि आफूलाई नियोजित रुपमा विवादमा तानिएको उनको दाबी छ। उनले भनेकी छन्, ‘मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ। मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनुहुन्छ। मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मवाट भएको छैन, हुने छैन।’
उपसभामुखको भिसाका लागि संसद सचिवालयमार्फत नै पहल हुने भए पनि उनले उपसभामुखको लेटरहेड प्रयोग गरी लेखिएको पत्र सार्वजनिक भएको छ। डेढ वर्षअघि राजदूतावासका कन्सुलर जनरललाई सम्बोधन गरेर लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८