• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य बन्न होडबाजी

  • खबरदाता

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य बन्न होडबाजी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा आकांक्षी धेरै हुँदा केन्द्रीय सदस्य छान्न सकस परेको छ । हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चुनिएका थिए । महाधिवेशनको बन्दसत्रका क्रममा १० दिनभित्र कमिटीले पूर्णता पाउने घोषणा गरिएको थियो । तर, महाधिवेशन सकिएको १३ दिन बित्दा पनि त्यसले पूर्णता पाउने टुंगो छैन।

गएको असार १६–२१ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल र महाचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरिएको थियो । सम्मानित नेतामा झलनाथ खनाललाई नै निरन्तरता दिइएको थियो । २९९ मध्ये २०६ केन्द्रीय सदस्य थाती राखेर त्यति बेला कमिटी घोषणा गरिएको थियो ।

महाधिवेशनको बन्दसत्रमा नेता राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्य चयन गरिसक्ने बताएका थिए । अध्यक्ष नेपालले पनि हललाई ‘थामथुम’ पार्दै छिट्टै सदस्य टुंग्याउने वचन दिएका थिए।

महाधिवेशनबाट सर्वसम्मत छानिएको ९३ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक असार २२ गते बसेको थियो । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकबाट प्रदेश इन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र केन्द्रीय सदस्यलाई समावेशी क्लस्टर मिलाई नाम सिफारिस गर्ने जिम्मेवारी दिइएको थियो ।

पार्टी कार्यालयका सचिव जीवनराम श्रेष्ठका अनुसार, प्रदेशले नाम सिफारिस गरिसकेको छैन । प्रदेशले नाम सिफारिस गरिसकेपछि केन्द्रीय कमिटीको बैठक बसेर थप सदस्यबारे निर्णय लिइनेछ ।

  • प्रकाशित मिति : साउन ३, २०८१, बिहीवार १४:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८