• साउन १, २०८१, मंगलवार Tuesday, 16 July, 2024

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

  • खबरदाता

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो ।

बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा करिडोर अवरुद्ध भएको हो ।

करिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ ।

उनले लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम नरोकिएको बताए ।

वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने यातायात सञ्चालनमा आएको छ ।

मालढुङ्गा–बेनी सडक अवरुद्ध

यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक पनि अवरुद्ध भएको छ ।

भारी वर्षाका कारण कुश्मा नगरपालिका–१ मालढुङ्गा नजिक भीरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहानदेखि सडक अवरुद्ध बनेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन् । अन्यत्रबाट आएका सवारीसाधन मालढुङ्गामा रोकिएका छन् ।

  • प्रकाशित मिति : असार २२, २०८१, शनिवार १०:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८