• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको नकआउट चरणमा

  • खबरदाता

टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको नकआउट चरणमा

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको शनिबार राति खेलिएको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले हराएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो । पोर्चुगलले दुई खेलबाट ६ अंक बटुलिसकेको छ ।

जितसँगै पोर्चुगल समूह ‘एफ’ बाट प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । दुई खेल खेलेको टर्की भने तीन अंकसहित दोस्रो स्थानमा छ । टर्कीको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । दुई–दुई खेल खेलेका चेक गणतन्त्र र जर्जिया भने एक–एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

खेल सुरु भएको २१ औँ मिनेटमै पोर्चुगलले पहिलो गोल गरेको थियो । पोर्चुगलका लागि पहिलो गोल बेनार्डो सिल्भाले गरेका थिए । अनुभवी मिडफिल्डर बेनार्डो सिल्भा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट ब्यवसायिक फुटबल खेल्छन् ।

पोर्चुगलले निर्धारित समयको २८ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । टर्कीका डिफेन्डर सामेत अकायदिनबाट आत्मघाती गोल भएपछि पोर्चुगलले २–० को अग्रता लिएको हो । पोर्चुगलका लागि तेस्रो गोल ५५औँ मिनेटमा चर्चित मिडफिल्डर ब्रुनो फर्नान्डेजले गरेका थिए । उनी म्यानचेस्टर युनाइटेडबाट ब्यवसायिक फुटबल खेल्छन् ।

पोर्चुगलले आफ्नो पहिलो खेलमा चेक गणतन्त्रलाई २–१ गोलले हराएको थियो । टर्कीले भने आफ्नो पहिलो खेलमा जर्जियालाई ३–१ गोलले पराजित गरेको थियो । जर्जिया र चेक गणतन्त्रबिचको खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो ।

  • प्रकाशित मिति : असार ९, २०८१, आइतवार ०५:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८