• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने

  • रासस

भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने

चैत ७, २०८०, बुधवार

 

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । यहाँबाट दोस्रो पटक कोशीटप्पुमा गैँडा स्थानान्तरण गर्न लागिएको हो । यसअघि गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका दुई पोथी गैँडालाई कोशीमा स्थानान्तरण गरिएको थियो । वन मन्त्रालयको निर्णयअनुसार एउटा भाले गैँडा कोशीटप्पु स्थानान्तरण गर्ने तयारी गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार यसअघि स्थानान्तरण गरिएका पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो । निकुञ्जभित्र आन्तरिक स्थानान्तरण भइरहेका बेला कोशीटप्पुमा पनि एउटा गैँडा लैजान लागिएको उनले बताए । उनका अनुसार चैतभित्र गैँडा स्थानान्तरण गरिनेछ ।

“भाले गैँडा लगेपछि कोशीटप्पुमा प्रजनन प्रक्रिया सुरु हुन्छ”, उनले भने, “जतिसक्दो छिटो वयस्क भाले गैँडा स्थानान्तरण गर्नेगरी तयारी गरिरहेका छौँ ।” आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई दुई र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरिएको थियो । दुवैलाई गत वैशाख ३१ मा प्राकृतिक वासस्थानमा छाडिएको थियो । सो समयमा पुष्पाको उमेर तीन वर्ष चार महिना र पूजाको उमेर दुई वर्ष एक महिना पुगेको थियो ।

हाल पुष्पाको उमेर चार वर्ष तीन महिना र पूजाको उमेर तीन वर्ष पुगेको छ । पोथी गैँडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन् । अहिले चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक गैँडा स्थानान्तरण चलिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन मगरले निकुञ्जको पश्चिम क्षेत्रका गैँडा पूर्वतर्फ सारिँदै छ ।

हालसम्म तीन वटा गैँडा स्थानान्तरण गरिएको छ चितवन राष्ट्रिय निकुञ्जबाट सन् १९८६ सालदेखि यता एक सय दुई वटा गैँडा स्वदेशमा मात्र स्थानान्तरण गरिएको छ । यहाँबाट स्थानान्तरण भएका गैँडामध्ये ४५ वटा भाले र ५७ वटा पोथी छन् । त्यसमध्ये सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा गैँडा लगिएको छ ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ वटा छन् ।

  • प्रकाशित मिति : चैत ७, २०८०, बुधवार १३:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८