फागुन २१, २०८०
हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू—भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८