• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नेपाल–भारत संयुक्त आयोगको बैठक आज, भारतका विदेशमन्त्री जयशंकर आउँदै

  • खबरदाता

नेपाल–भारत संयुक्त आयोगको बैठक आज, भारतका विदेशमन्त्री जयशंकर आउँदै

पुस -१९, २०८०

 

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर दुईदिने नेपाल भ्रमणका लागि आज (बिहीबार) नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । नेपाल–भारत संयुक्त आयोगको बैठक आज काठमाडौंमा हुँदै छ ।

नेपाल भ्रमणका बेला भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले र भारतको नेतृत्व जयशंकरले गर्नेछन् ।

नेपाल र भारतबीच स्थापना गरिएका संयन्त्रमध्ये सबैभन्दा महत्वपूर्ण परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोग मानिन्छ । संयुक्त आयोगको बैठकमा नेपाल–भारत बीचका सम्पूर्ण आयामहरूमा छलफल गरिन्छ ।

सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँदिल्लीमा सन् २०२१ जनवरीको दोस्रो साता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने अभ्यास छ ।

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका बेला नेपाल र भारतबीच दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । दीर्घकालीन उर्जा खरिदसम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रकम बढाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

पहिला ‘साना विकास परियोजना’ नामले चिनिने परियोजनालाई हाल ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ नाम दिइएको छ । यो परियोजनाअन्तर्गत भारतले एउटा परियोजनामा अहिले बढीमा पाँच करोड रुपैयाँ लगानी गर्न पाउँछ । अब यसलाई बढाएर २० करोड रुपैयाँ पुर्याउन लागिएको स्रोतको दाबी छ ।

सन् २००३ देखि हालसम्म भारतले नेपालमा विभिन्न क्षेत्रमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेको छ ।

  • प्रकाशित मिति : पुस १९, २०८०, बिहीवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८