• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

इन्टरनेट आज रातिदेखि बन्द हुन्छ ?

  • खबरदाता

इन्टरनेट आज रातिदेखि बन्द हुन्छ ?

पुस १५, २०८०

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)को संगठन आइस्पानले केही दिनअघि पुस १५ गते (आज)पछि देशभर इन्टरनेट बन्द हुन सक्ने चेतावनी दियो ।

भारतबाट आयातित ब्यान्डविथको भुक्तानी गर्न नपाएको र त्यहाँका कम्पनीले सेवा कटौती गर्ने ‘अल्टिमेटम’ दिएको भन्दै आइस्पानले इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको थियो ।

टाटा, एयरटेललगायत कम्पनीले नेपालका इन्टरनेट सेवा प्रदायकलाई डिसेम्बर ३१ अर्थात् पुस १५ सम्म बाँकी रकम तिर्न पत्र पठाएका थिए । तर, इन्टरनेट सेवा प्रदायकले करिब साढे दुई अर्ब रुपैयाँ सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी रकम भुक्तानी गर्न दिन नेपाल राष्ट्र बैंकलाई गर्नुपर्ने सिफारिस रोकेको छ ।

सेवा प्रदायकले उक्त बक्यौता आफूहरूले तिर्नु नपर्ने जिकिर गर्दै आएका छन् । यही विवादका कारण रकम तिर्न नसके भारतीय कम्पनीले ब्यान्डविथ उपलब्ध गराउन रोक्ने र नेपालमा इन्टरनेट बन्द हुन सक्ने चेतावनी सेवा प्रदायकले दिएका थिए ।

आइस्पानका अध्यक्ष सुधीर शर्माले तत्काल सेवा अवरुद्ध नगर्न भन्दै भारतीय कम्पनीलाई पत्र पठाइएको बताए । करिब दुई अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको उनले सुनाए ।

आजदेखि इन्टरनेट बन्द हुने हो कि भन्ने प्रश्नमा उनले त्यसो नहुने विश्वास व्यक्त गरे । “हामीले सेवा नरोक्नु होला, भुक्तानीका लागि यता छलफलकै क्रममा छौँ भनेर भनेका छौँ । हिजो पत्र पठाएको हो, तर आइतबार (आज) उता बिदा नै होला,” उनले  भने, “नयाँ वर्षको पनि बिदा होला । पत्र कहिले हेर्छन्, तर सेवा बन्द नहोला कि भन्ने छ ।”

सरकार र सेवा प्रदायकबीच बक्यौताका विषयमा सहमति नहुँदा विदेशी कम्पनीको भुक्तानी हुन नसकेको हो । भुक्तानी नगरे सेवा अवरुद्ध गर्न सक्ने चेतावनी दिइएको आइस्पानको भनाइ छ ।

विवाद समाधान गरिने भन्दै सञ्चारमन्त्री रेखा शर्माले इन्टरनेटजस्तो अत्यावश्यक सेवा नरोकिने र रोक्न नहुने बताउँदै आएकी छन् ।

  • प्रकाशित मिति : पुस १५, २०८०, आइतवार २०:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८