• फागुन २१, २०८०, सोमवार Monday, 04 March, 2024

सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने

  • खबरदाता

सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने

मंसिर २९, २०८०

पर्यटकीय नगरी सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो ।

सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा पुस १० देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुनसकेको थिएन । पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिइन् । महोत्सवले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन विकासमा सहयोग पुर्याएको उनले बताइन् ।

साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो हटाइएको छ । अधिकारकर्मीहरूले प्रश्न उठाउन थालेपछि व्यवसायीहरूले उक्त तीन प्रतियोगिता हटाएका हुन् । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौड प्रतियोगितालाई यथावत राखिएको छ ।

महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तक्र्रिया कार्यक्रम राखिएको छ । स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने महोत्सवमार्फत लक्ष्य राखिएको छ ।

चितवनको पर्यटन पवर्द्धनका लागि स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्ववोध गराउन अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको सङ्घका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकाश पाण्डेको भनाइ छ ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी गराउनुका साथै स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग ‘बिटुबी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने उनले बताए ।रासस

  • प्रकाशित मिति : मंसिर २९, २०८०, शुक्रवार १७:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८