• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दसैँभर मौसम सफा रहने

  • खबरदाता

दसैँभर मौसम सफा रहने

कात्तिक ७, २०८०

 

चितवन– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बङ्गालको खाडीमा बनेको ‘हामून’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि दसैँभर सामान्यतया मौसम सफा रहने जनाएको छ ।

अहिले बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।

देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ। कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

महाशाखाले यस वर्षको बडादसैँअन्तर्गत विजयादशमीमा यात्रा गर्न मौसमले अवरोध नगर्ने जनाएको छ ।

  • प्रकाशित मिति : कात्तिक ७, २०८०, मंगलवार ०८:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८