• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

सरकार-शिक्षक वार्ता निष्कर्षविहीन

  • खबरदाता

सरकार-शिक्षक वार्ता निष्कर्षविहीन

असोज ४, २०८०

 

सरकार र विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीच बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ। पुनः छलफलमा बस्नेगरी आज बिहानको वार्ता बिनानिष्कर्ष टुंगिएको हो।

आन्दोलनरत शिक्षक र सरकारबीच आज बिहान ८ बजेदेखि वार्ता सुरु भएको थियो। एक घन्टाभन्दा बढी छलफल भए पनि दुवै पक्षबीच सहमति हुन नसक्दा वार्ता बिनानिष्कर्ष टुंगिएको हो।

छलफलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताएका थिए । मन्त्री श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आग्रहसमेत गरेका थिए । उनले शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए। उनले जायज माग सम्बोधन हुने आश्वासनसमेत दिए।

गृहमन्त्री श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी सरकारको तर्फबाट वार्तामा बसेका थिए भने आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरू सहभागी थिए।

संसदमा पेस भएको शिक्षा विधेयक हुबहु पारित नगर्न माग गर्दै नेपाल शिक्षक महासंघले बुधबार विशाल र्‍याली गरेको थियो।

महासंघको र्‍यालीले माइतीघरदेखि बानेश्वरसम्मको यातायात ठप्प भएको थियो।

विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानको विरोध गर्दै देशभरका गरी करिब एक हजार शिक्षक र्‍यालीमा सहभागी भएका थिए। सरकारले वार्ताका लागि आह्वान गरेको भए पनि उनीहरू आन्दोलित भएका हुन्।

शिक्षा मन्त्रालयले वार्ताका लागि गरेको आग्रह आफूहरूलाई अमान्य रहेको महासंघको भनाइ थियो।

विधेयकका प्रावधानमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ, जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।

  • प्रकाशित मिति : असोज ४, २०८०, बिहीवार ११:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८