• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

गैह्रीगाउँ हत्या प्रकरण : पक्राउ पर्ने दीपेन्द्रले नवीनसँगै राति १० बजेसम्म मदिरा सेवन गरेका थिए

  • खबरदाता

गैह्रीगाउँ हत्या प्रकरण : पक्राउ पर्ने दीपेन्द्रले नवीनसँगै राति १० बजेसम्म मदिरा सेवन गरेका थिए

भदौ ३०, २०८०

 

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रकाउ परेका आरोपीमाथि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । गएराति मिलको सुरक्षागार्डका रूपमा काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।

हत्या आरोपमा प्रहरीले नवीन राईकै आफन्त पर्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ । उनको भूमिकामाथि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनी हत्या लगत्तै आफैँ प्रहरी कार्यालय पुगेका थिए । प्रहरी स्रोतले भन्यो, “उनी हत्यालगत्तै आफ्नो भाइ नवीनको हत्या भयो भन्दै प्रहरी वृत्त बानेश्वर पुगेका हुन् । तर, लुगाभरी रगत र हातमा समेत चोट लागेको देखिएपछि उनलाइ सोधपुछमा राखेका हौँ ।”

प्रहरीका अनुसार दीपेन्द्रका बुबासमेत यसअघि सोही मिलमा काम गरेर छोडेका थिए । त्यही समयदेखि उनी त्यहाँ आवतजावत गर्ने गरेको खुलेको छ । शुक्रबार पनि दीपेन्द्र घटनाअघि नै मिलमा पुगेको देखिएको प्रहरीले बताएको छ ।

दीपेन्द्रको मोटरसाइकल मिलकै पार्किङमा भेटिएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार घटनाअघि दीपेन्द्र र मृतक नवीन राईले वडा कार्यालय ३२ नजिकैको एक पुलहाउसमा सँगै मदिरा पिएको खुलेको छ ।

उनीहरू मदिरा पसलबाट बेलुका १० बजे निस्किएका थिए । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाका अनुसार घटना ११ बजेतिर घटेको हो । घटना हुनु केही समयअघि १० बजेर ५३ मिनेटमा दीपेन्द्र राई र नवीन राईबीच फोन सम्र्पक भएको देखिएको एआईजी थापाले जानकारी दिए । जसका कारण घटनामा दीपेन्द्र राईको भूमिका थप शंकास्पद भएको प्रहरीको भनाइ छ । उक्त मिल दोलखाका बालकृष्ण सिवाकोटीले सञ्चालन गरेका थिए ।

जडिबुटी पुगेर रोकियो अनुसन्धानमा खटिएको कुकुर

प्रहरीले घटनास्थलमा सीसीटिभी जडान नभएका कारण अनुसन्धानमा केही समस्या परेको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका दीपेन्द्र राईले अझैसम्म हत्या स्वीकार गरेका छैनन् ।

मदिरा पिएका राई अझै मदिराका कारण पूर्ण होसमा छैनन् । प्रहरीले थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । घटनास्थलमा मृतकको शव सुँघाएर छोडिएको कुकुर कोटेश्वर जडिबुटी पुलसम्म पुगेर अल्मलिएको छ ।

मिल सञ्चालक बालकृष्ण सिवाकोटीले कुमार भुजेल कबिर २० वर्षदेखि आफ्नो मिलमा कामदारको रूपमा बसेको बताए । “मान्छे राम्रो हो । अहिलेसम्म झैझगडा गरेको भन्ने सुनेको छैन । मदिरा सेवन पनि गर्दैन थियो । कसले किन यस्तो हत्या गर्‍यो रु,” शिवाकोटीले भने ।

चारजनाको शव प्रहरीले सुरक्षागार्ड बस्ने कोठाको बाहिर फेला पारेको थियो । हत्याको कारणबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

कुमार भुजेलकी आमा शुभद्रा केही दिन अघिमात्रै छोरा भेट्न आएकी थिइन् ।

  • प्रकाशित मिति : भदौ ३०, २०८०, शनिवार १०:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८