• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पारमादेशबाट सत्तामा फर्किएको कार्की सरकारको आयु कति ?

  • खबरदाता

पारमादेशबाट सत्तामा फर्किएको कार्की सरकारको आयु कति ?

भदौ २३, २०८०

काठमाडौँ।कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। २०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत पाउन विफल बनेपछि असार १५ मा पदमुक्त बनेका थिए। सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्री बन्ने अवसर पाएका हुन्।

एमाले सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री बनेका छन् । एकराज कार्की भौतिक पूर्वाधार र पाँचकर्ण राई वन तथा वातारण मन्त्री बनेका छन् । एमालेकी सचेतक सिर्जना राई समाजिक विकास राज्यमन्त्री बनाउने निर्णय भएको एमाले कोसी प्रदेश संसदीय दलले जनाएको छ ।

उता राप्रपा भने तत्काल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । यद्यपि, कार्कीको नेतृत्वमा बन्ने सरकारलाई भने समर्थन गर्ने राप्रपाले जनाएको छ ।राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले शिलापत्रसँग भने, ‘हामी सरकारमा अहिले जादैनौँ । सरकारमा नगए पनि समर्थन भने छ ।’

अब पनि कार्कीले बहुमत पुर्याउन सकस हुने देखिन्छ । प्रदेशसभा अहिलेसम्म सभामुखविहीन छ । उपसभामुख एमालेबाटै निर्वाचित सिर्जना दनुवार रहेकी छिन् । एमालेले उनलाई राजीनामा गराएको खण्डमा मात्रै ४६ मत पुर्याउन सक्ने देखिन्छ । उपसभामुखको राजीनामा नआएको खण्डमा भने संसदमा यसअघि पाएको ४६ मत पुर्याउन पनि उनलाई सकस हुने देखिन्छ । यस्तै केन्द्रमा सत्ता गठबन्धनसँग नजिक हुँदै गएको राप्रपाले पनि एमाले दलका नेता कार्कीलाई सहयोग गर्छ या गर्दैन भन्ने अन्यौल छ ।

उनले बहुमत पुर्‍याउन सक्ने अवस्था नदेखिँदा कोशी प्रदेश सरकार अस्थिर बन्न पुगेको छ । उद्धव थापा र हिक्मत कार्की पालैपालो मुख्यमन्त्री बने पनि दुवैले बहुमत जुटाउन सकेका छैनन् ।

कार्कीलाइ किन सकस छ बहुमत पाउन ?

२४ पुस २०७९ मा एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका कार्कीसँग प्रष्ट बहुमत थियो । माओवादी, राप्रपा र जनता समाजवादी दल सरकारमा थिए, त्यसैले सहजै विश्वासको मत पाए । तर राष्ट्रपति चुनावसँगै केन्द्रमा समीकरण फेरियो । माओवादीले एमाले छाडेर कांग्रेससँग नयाँ समीकरण बनाएपछि प्रदेश सरकारहरू पनि संकटमा परे । जसपा र माओवादीले समर्थन फिर्ता लिएपछि कार्कीले १५ असारमा प्रदेशसभामा विश्वासको मत मागे ।

उनले ४६ मत मात्र पाए । जबकि ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ चाहिन्थ्यो । विश्वासको मत नपाएपछि कार्की स्वतः पदमुक्त भए ।त्यसपछि कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री भए । २१ असारमा सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री भएका उनको नियुक्ति सर्वोच्चले ११ साउनमा बदर गर्‍यो ।

सभामुखबाट बाबुराम गौतमलाई राजीनामा गराएर १६ भदौमा मुख्यमन्त्री भएका थापाले ४ भदौमा विश्वासको मत लिएका थिए । तर प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले गरेको मतदानलाई असंवैधानिक ठहर गर्दै सर्वोच्चले २१ भदौमा थापा मुख्यमन्त्रीबाट पदमुक्त भएको फैसला सुनायो ।सर्वोच्चले ४८ घण्टाको समय तोकेर परमादेश नै दिएका कारण कार्की सहजै मुख्यमन्त्री भए ।

तर उनलाई पनि विश्वासको मत जुटाउन सहज छैन । किनकि ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ चाहिन्छ ।कार्कीको दल एमालेसँग ४० मत छ । उसलाई ६ प्रदेश सांसद भएको राप्रपाले समर्थन गरेको छ । राप्रपाले समर्थन गरे पनि सहज छैन ।गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक प्रदेश सांसद छन् ।

कोशी प्रदेशसभा सभामुखविहीन छ । उद्धव थापालाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रले आफ्नो दलबाट सभामुख निर्वाचित बाबुराम गौतमलाई राजीनामा गराएपछि कार्यवाहक सभामुखको जिम्मेवारी उपसभामुख सिर्जना दनुवारले पाएकी छिन् ।उनी एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । सभामुख चयन नगरी विश्वासको मत लिए दनुवारले मतदान गर्न पाउँदिनन् । अर्थात् कार्कीको पक्षमा ४५ मत मात्र हुन्छ । उनलाई राजीनामा गराए ज्येष्ठ सदस्यको रूपमा कांग्रेस सांसद गयानन्द मण्डलले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ ।

तर निवर्तमान मुख्यमन्त्री थापाले ४ भदौमा विश्वासको मत लिने बेला उपसभामुख दनुवार उपचारका लागि भन्दै काठमाडौं गएकी थिइन् भने एमाले र राप्रपाले आफ्ना १० जना ज्येष्ठ सदस्यलाई बिदामा बसाएको थियो । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बेला आफूहरूले पनि पालोको पैंचो तिर्ने सत्ता गठबन्धनका एक सांसद बताउँछन् ।अर्थात् अहिलेकै अवस्थामा कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना देखिंदैन । त्यसलाई बुझेका कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राई कार्की नेतृत्वको नयाँ सरकार ३० दिनका लागि मात्रै भएको टिप्पणी गर्छन् । त्यसपछि आफूहरूको सरकार बनाउने भन्दै उनले भने, ‘अब त्यसकै तयारीमा लाग्छौं ।’यथास्थितिमा सरकारको आयु ३० दिन मात्र भएको बुझेको एमालेले भने सहमतिको प्रस्ताव अघि सारेको छ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठन भएको कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाए प्रदेशमा मध्यावधि हुन सक्छ । मध्यावधिको जोखिम टार्न सहमति गरेर अघि बढ्नुपर्ने उनले बताए । ‘यो सरकारले विश्वासको मत पाएन भने संविधानको धारा १६८ ९५० मा जान्छ, त्यहाँ तल–माथि भए मध्यावधिमा जान्छ’ उनले भने, ‘त्यसैले दलहरूबीच सहमति गरौं, एमाले पाँचै वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्छ भन्ने पक्षमा छैन, हिक्मतकुमार कार्कीले पनि भन्नुभएको छैन ।’

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने अहिले एमालेसँग सहकार्यको सम्भावना देख्दैनन् । ‘तत्काल उहाँहरूले सरकार बनाउनुहुन्छ, हामी जाने कुरा हुँदैन’ उनले भने, ‘३० दिनको समय छ, कसरी जाने भन्ने छलफल गर्छौं ।’

  • प्रकाशित मिति : भदौ २३, २०८०, शनिवार ०६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८