• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

विश्वकप एसिया क्षेत्र छनोटः कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

  • रासस

विश्वकप एसिया क्षेत्र छनोटः कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

भदौ- १८,२०८०

आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो।

समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन। उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन्। त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन्। सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो। कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्। त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन।

नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए। नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ।

 

  • प्रकाशित मिति : भदौ १८, २०८०, सोमवार १०:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८