• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

संखुवासभा कैदी मृत्यु प्रकरण : कुटपिट पछि कारागारमै मृत्यु भएको इन्सेकको निष्कर्ष

  • खबरदाता

संखुवासभा कैदी मृत्यु प्रकरण : कुटपिट पछि कारागारमै मृत्यु भएको इन्सेकको निष्कर्ष

साउन ३२, २०८०

 

संखुवासभा कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै यातना दिएर हत्या गरेपछि मात्रै बिहान अस्पताल पुर्‍याइएको मानव अधिकारवादी संघ–संस्थाहरूले दाबी गरेका छन्।

अघिल्लो बुधबार कारागारबाट भाग्न खोजेका दुई जना कैदीको कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भनिएको थियो। उक्त घटनाबारे विभिन्न सरकारी टोलीले छानबिन गरिरहेका छन्।

संखुवासभाकै मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु प्रकरणमा कारागार प्रशासन तथा प्रहरीहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

सरकारी पक्षबाट गठित समितिहरूले छानबिन प्रतिवेदन प्रकाशन गर्नु अगावै अधिकारवादी संस्थाहरूले स्थलगत अध्ययन पछि आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन्।

इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनमा दुई कैदीलाई पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको बताए।

‘पहिले कारागारभित्रै ज्यादै पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको र उनीहरूको मृत्यु भइसकेपछि बिहान बल्ल अस्पताल लगेको देखिएको छ’, उनले भने, ‘भाग्न खोजेका बेला उनीहरूलाई कारागार सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिए। त्यसपछि प्रहरी र कैदीहरू मिलेर ज्यानै जाने गरी कुटपिट गरेको देखिन्छ। जब उनीहरूको मृत्यु भयो, बल्ल अस्पतालतिर लगेको देखियो।’

थापाका अनुसार भाग्न खोज्ने कैदीहरूलाई पहिले प्रहरीले कुटपिट गरेपछि कारागारभित्र लगिएको र भित्र पनि कैदीहरूले कुटेको देखिन्छ।

उनीहरूमाथि रड, लाठी प्रहार भएको अधिकारकर्मीहरूको भनाइ छ।

राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख पवनकुमार भट्टले संखुवासभा प्रकरण राज्यका निकायको गम्भीर लापरबाहीको नमूना भएको बताए।

‘राज्यका निकायहरूमा नागरिकको यो ढंगले ज्यान लिने कुरा ज्यादै गम्भीर छ’, उनले भने, ‘हामी चाँडै अनुगमन प्रतिवेदन सार्वजनिक गर्नेछौं।’

घटनामा संलग्न रहेको भन्दै पीडितका परिवारले किटानी जाहेरी दिएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी प्रहरी नियन्त्रणमा छन्। निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन्।

उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि मात्रै परिवारले घटनाको ६ दिनपछि शव बुझेका थिए।

  • प्रकाशित मिति : साउन ३२, २०८०, बिहीवार १६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८