• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

चितवन कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

  • रासस

चितवन कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

साउन -१६, २०८०

 

चितवन– नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो ।

चौथो महाधिवेशनमा उक्त शाखाले २८ हजार दुई सय जनाको क्रियाशील सदस्यता तय गरेको थियो । क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा चारवटा वडामा क्रियाशील सदस्यभन्दा कम मत पार्टीका उम्मेदवारले पाएकाले क्रियाशील सदस्य नवीकरणमा कडाइ गर्न लागिएको हो ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार यही साउन ६ गतेदेखि सबै वडामा सदस्यता नवीकरण अभियान थालिएको छ । हालसम्म ५० प्रतिशत हाराहारीले नवीकरण गरेको तथ्यांक छ । केही समय थप गरेर नवीकरण टुङ्ग्याउने पार्टीको तयारी छ । यद्यपि पार्टीका उम्मेदवारलाई भोट नहाल्नेलाई कुनै हालतमा पनि नविकरण नगर्न वडाहरूलाई भनिएको छ ।

जिल्ला समितिले स्वघोषणापत्रमा सदस्यताको अनिवार्य हस्ताक्षर हुने गरी फारम पठाएको छ । स्वघोषणापत्रमा भनिएको छ, ‘मैले नेपाली कांग्रेसको नीति, दृष्टिकोण, विचारअनुसार र नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना नगरेको कहीँ कतैबाट प्रमाणित भएमा क्रियाशील सदस्यता रद्द गरे मेरो पूर्ण मन्जुरी रहने छ ।’ यसले पार्टी भित्रको थप अनुशासन कायम गर्ने उनको भनाइ थियो ।

पार्टीको सदस्य भएर पनि विगतका निर्वाचनमा पार्टीप्रति सकारात्मक भूमिका निर्वाह गर्नेहरू नवीकरण गर्न नआउनु भन्ने पार्टीको मान्यता रहेको सभापति खनालले बताए । उपनिर्वाचनमा चितवन क्षेत्र नं २ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं ४, ५, १० र कालिका नगरपालिकाको वडा नंं ६ मा क्रियाशील सदस्यभन्दा कम मत आएको थियो । खनालका अनुसार आठ सय ३९ क्रियाशील सदस्य रहेको भरतपुर(१० मा ६ सय २१ मत मात्रै मत कांग्रेसका उम्मेदवारले पाएका थिए । उनले भने, ‘पार्टीका उम्मेदवारले पाएको मतभन्दा बढी क्रियाशील सदस्य नवीकरण हुँदैन ।’

पार्टीमा नवीकरणमा क्रियाशील सदस्य घटाउने अभियानमा आफू रहेको भन्दै उनले पार्टीप्रति प्रतिबद्धहरुले नयाँ सदस्यता पाउने बताए। नेपाली कांग्रेसलाई स्वच्छ र सुन्दर पार्टी निर्माणका लागि पार्टीको निर्देशन नमान्नेलाई सदस्य भन्न नसकिने सभापति खनालको भनाइ थियो ।

  • प्रकाशित मिति : साउन १६, २०८०, मंगलवार १५:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८