• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

निर्वाचित सांसद  शर्मालाई मनोनीत प्रकाशशरणको धम्की ?

  • खबरदाता

निर्वाचित सांसद  शर्मालाई मनोनीत प्रकाशशरणको धम्की ?

साउन १२, २०८०

 

काठमाडौं । गत साउन ३ गते भन्सार जाँचपास भई त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो अवैध सुन राजस्व अनुसन्धान विभागले बरामद गर्‍यो । विभागले यसको अनुसन्धान गरिरहेकै छ ।

तर यति ठूलो परिमाणको सुन विमानस्थलका सबै प्रकारका परीक्षण र औपचारिकताहरु पूरा गरेर कसरी बाहिरिन सम्भव भयो भन्ने सवाल अनुत्तरित छ ।राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहत रहन्छ । भन्सार विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालय अर्थ मन्त्रालय मातहत पर्छ । त्यस्तै विमानस्थलको सुरक्षा व्यवस्था प्रहरीले हेर्छ । प्रहरी गृह मन्त्रालयमातहत पर्छ ।गृह र अर्थ मन्त्रालयको उच्च तहसम्मको संलग्नताबेगर यति ठूलो परिमाणमा अवैध सुन भित्रिनै नसक्ने भन्दै मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी मात्र होइन, सत्तापक्षकै सांसदहरूले समेत प्रश्न उठाएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका छन् । यही विषयलाई लिएर आरोपप्रत्यारोप चलेपछि बैठक नियमित कार्यसूचीमै प्रवेश गर्न सकेन ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार नै संसदीय दलको बैठक बसी गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्ने निर्णय गरेको थियो । पूर्वतयारी अनुसारै एमाले सांसदहरू बुधबारको बैठक सुरु हुँदानहुँदै उठेर विरोध जनाउन थाले । सभामुखले बारम्बार बस्न आग्रह गर्दा पनि नबसेपछि एमालेका प्रमुख सचेतक पदम गिरीलाई आफ्ना कुरा राख्न समय दिए ।एमाले प्रमुख सचेतक गिरीले गृहमन्त्रीले प्रचारबाजी मात्र गरेको आरोप लगाउँदै उच्च स्तरीय छानबिन समितिको माग गरे । कर्मचारीको सेटिङमा मात्रै यति ठूलो मात्रामा तस्करी हुन नसक्ने दाबी गर्दै उनले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठाए । उच्चस्तरीय छाबिन हुने र तस्करीको जरासम्म पुग्ने सुनिश्चितता नभएसम्म संसद चल्न नदिने एमालेको अडान रहेको उनले सदनलाई जानकारी गराए ।

संसद बैठक चल्न नदिन एमाले सांसदहरु उठिरहेकै थिए । त्यहीबीचमा सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनील शर्माले बोल्नका लागि समय मागे । कांग्रेस सांसद शर्माले एमाले सांसदभन्दा एक कदम अगाडि बढेर गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिँदै स्वतन्त्र अनुसन्धानमा सघाउनुपर्ने माग राखे । अर्थ र गृहमन्त्रीसँगै यो प्रश्न प्रधानमन्त्रीमाथि समेत उठ्ने उनको भनाइ थियो । यदि उनीहरुले राजीनामा नदिए संसदमै अनसन बस्नेसम्मको चेतावनी शर्माले दिएका छन् ।

सत्तापक्षकै सांसद आफ्नै पार्टीका मन्त्रीको राजीनामा माग्दै सदनमा अनसनको चेतावनी दिन पुगेपछि प्रतिनिधि सभाको बैठक साउन १५ गतेसम्म स्थगित गरिएको छ । प्रतिनिधि सभा स्थगित गरेर के भो रु राष्ट्रिय सभामा बिहीबार पनि अर्थमन्त्रीमाथि नै प्रश्न उठ्यो । यसअघि संसदको कानुन समितिमा पनि यति ठूलो परिमाणको सुनको तस्करी देशका अर्थ र गृहमन्त्रीको मिलेमतोबिना सम्भवै नहुने भन्दै उनीहरूले राजीनामा दिनुपर्ने आवाज उठिसकेको थियो ।

यसरी हरेक मञ्चमा अर्थमन्त्रीमाथि प्रश्न उठिसकेपछि सत्ताधारी दल नेपाली कांग्रेसको नेतृत्वले स्पष्ट पार्नुपर्ने हो । आफ्ना सांसदहरुले यो विषय किन उठाए भनेर गम्भीरतापूर्वक मनन गर्नुपर्ने हो । तर यस विषयमा कांग्रेस नेतृत्व प्रतिक्रियाविहीन छ । यसको फाइदा उठाएर आरोपित मन्त्री उल्टै प्रश्न गर्ने सांसदलाई कारवाहीको धम्की दिइरहेका छन् । आरोप र लान्छना लगाइरहेका छन् ।

सुनील शर्मा प्रत्यक्ष जनताको मतबाट जितेर आएका सार्वभौम सांसद हुन् । उनले सार्वभौम संसदमा स्वतन्त्र मत राख्न पाउँछन् । जनताको आवाज बोल्न पाउँछन् । सुन प्रकरणमा त झन् उनले आफ्नो पार्टीको घेराभन्दा माथि उठेर देशको इज्जत र प्रतिष्ठाका पक्षमा आवाज उठाएका छन् । सुशासनका पक्षमा आवाज उठाएका छन् । उनको आवाज दबाउन कुनै निर्वाचन क्षेत्र नभएका र देउवा परिवारका सदस्यको लुगाको फेर समातेर सांसद बनेका महत आफ्नो बचाउका लागि पार्टीको मञ्च दुरुपयोग गर्दै छन् ।

निर्वाचन क्षेत्रमा पराजित भएर अरुले दुःख गरेर जुटाएको मत देखाएर संसदको लोगो टाँस्न पाएका तिनै महत जनताको मन र मत जितेर प्रत्यक्ष निर्वाचनबाट आएका सांसदमाथि कारवाहीको हतियार देखाउँदै छन् । योभन्दा असुहाउँदो र आश्चर्यजनक अर्को के होला रु

  • प्रकाशित मिति : साउन १२, २०८०, शुक्रवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८