साउन ९,२०८०
गठनदेखि नै कामचलाउ रहेको कोसी प्रदेश सरकारको आयु सर्वोच्च अदालतले लम्ब्याइरहेको छ । संवैधानिक व्यवस्थाविपरीत सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर कांग्रेस नेता उद्व थापालाई मुख्यमन्त्री बनाइएको थियो ।
तर, असंवैधानिक रहेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले अहिलेसम्म निर्णय दिन सकेको छैन । बरु कामचलाउ सरकारको आयु लम्बिरहेको छ ।यसअघि सर्वोच्च अदालतले नै कोसी प्रदेश सरकारलाई दीर्घकालीन निर्णय नगर्न आदेश दिएको थियो । जसकारण थापा नेतृत्वको सरकारले प्रशासनिक कामबाहेक केही गर्न सकेको छैन । न विधेयक अगाडि बढाउन सकेको छ न त सरकारलाई नै पूर्णता दिन सकेको छ । ७ साउनदेखि निरन्तर सुनुवाइ गर्ने भनेको सर्वोच्चले सोमबार फेरि रिटको छिनोफानो पूर्ण इजलासबाट लगाउने गरी अगाडि बढाएको छ ।
एमालेका हिक्मत कार्कीले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठलको इजलासले मुद्दाको सुनुवाइ पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। सर्वोच्चको आदेशसँगै अब मंगलबारबाट यो मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुनेछ ।सर्वोच्च अदालतको नियमावलीको नियम २३ (ग) अनुसार संयुक्त इजलासलाई कुनै मुद्दामा जटिल कानुनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुन उपयुक्त छ भन्ने लागेमा पठाउन सक्ने व्यवस्था छ ।
यसअघि विपक्षीले लिखित जवाफ पेस गरिसकेका छन् । मुख्यमन्त्री थापा र सभामुख बाबुराम गौतमले सरकार गठन संवैधानिक प्रक्रियाले नै भएको जिकिर गर्दै अदालतमा जवाफ पठाएका थिए । संविधानले नै व्यवस्था गरेअनुरूप दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठन गर्न दाबी पेस गरिएको दाबी छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८