• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आयो लचिलो मौद्रिक नीति, चम्कियो सेयर बजार

  • खबरदाता

आयो लचिलो मौद्रिक नीति, चम्कियो सेयर बजार

साउन  ८, २०८०

 

 

नेपाल राष्ट्र बैंकले केही पक्षमा सजगता अपनाउँदै मौद्रिक नीतिमा खुकुलोपन ल्याएको छ ।

कर्जा विस्तारलाई सीमित गर्ने, उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउने र निक्षेपको ब्याजदरलाई साढे ६ प्रतिशतभन्दा तल आउन नदिने उद्देश्य राखेर गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकका तर्फबाट आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको छ ।नेपाल राष्ट्र बैंक स्वयमले सजगतापूर्ण लचिलो भनेकाले कतिपयले आम अपेक्षाको तुलनामा धेरै हदसम्म कसिकसाउ नै गर्ने गरी नयाँ मौद्रिक नीति आएको पनि भनेका छन् । तर सेयर, घरजग्गा र हायरपर्चेज कर्जामा लचक नीति अपनाएकाले अब बजार चलायमान हुने अपेक्षा गर्ने ठाउँ भने प्रशस्तै छ ।

गभर्नर अधिकारीले कोभिडपछिका केही गम्भीर गल्तीहरुलाई नदोहोरिने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका छन् । यसपल्ट राष्ट्र बैंकले विगतमा धेरै वर्षदेखि भइरहेको अनियन्त्रित कर्जा विस्तारमाथि गम्भीर समीक्षा गरेको छ । ‘पछिल्ला २० वर्षमा हरेक साल औसत साढे १९ प्रतिशतले कर्जा बढेको भए पनि त्यसले राष्ट्रिय उत्पादन बढाउन नसकेको, बरु सिंगो मुलुक र अर्थव्यवस्थालाई परनिर्भर बनाउँदै लगेको’ भनिएको छ ।

अर्थतन्त्रको आकारसँग जोडेर हेर्दा दक्षिण एसियामै सर्वाधिक ऋण परिचालन भएको भन्दै राष्ट्र बैंकले हाम्रो निजी क्षेत्र अधिक ऋणको भारीले थिचिएको भनेको छ ।यही कारण सीमित व्यक्तिहरुलाई असीमित ऋण सुविधा उपलब्ध गराउने विगतको अभ्यासलाई नियन्त्रण गर्ने राष्ट्र बैंकले बताएको छ । कर्जाको अधिकेन्द्रीकरण घटाएर उत्पादनशील एवम् साना तथा मझौला उद्योगमा ऋण प्रवाह बढाउने भनिएको छ । ठूला ऋणीको सुपरिवेक्षण गर्न छुट्टै मार्गदर्शन तयार पार्ने पनि भनेको छ । यसै कारण घरजग्गा र सेयर बजारमा व्यापक ऋण दिन माग गरिरहेको निजी क्षेत्रप्रति राष्ट्र बैंक उदार देखिएन । बरु बजेटले अघि सारेको ‘आय असमानता घटाउने’ नीतिगत लयमा राष्ट्र बैंकले साथ दिएको छ ।

नयाँ मौद्रिक नीतिले ५० लाखसम्मको सेयर कर्जा र २५ लाखसम्मको गाडी किन्ने कर्जामा सहजीकरण गर्ने भनेको छ । तोकिएको जोखिम भारको आकार घटाइएको छ भने सीमा फराकिलो बनाइएको छ । विदेश भ्रमणमा जाने नेपालीलाई दिइने सटही सुविधा १५ सय डलरबाट २५ सय डलर पुराइएको छ । सफ्टवेयर कम्पनीहरुलाई पैसा विदेश लान सरलीकरण गर्ने भनिएको छ । प्राकृतिक प्रकोपका कारण समस्यामा परेका ऋणीलाई सघाउने र विवादास्पद चालु पुँजी कर्जालाई पनि पुनरवलोकन गर्ने भनिएको छ । पहिलोपटक घर बनाउने व्यक्तिले २ करोडसम्म ऋण पाउने भएका छन् । कर्जा विस्तारको लक्ष्यलाई पनि साढे ११ प्रतिशतमा सीमित गर्ने भनिएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई सेयर बजारले स्वागत गरेको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन सेयर बजार परिसूचक नेप्से ६३ दशामव २४ अंकले बढेर २२२७ बिन्दुमा पुगेको छ । मौद्रिक नीति सार्वजनिक हुनुअघिसम्म २० अंक बढेको बजार सार्वजनिक भएपश्चात् ४३ अंक बढेको हो ।मौद्रिक नीतिले सेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरवलोकन गर्ने व्यवस्था गरेपछि लगानीकर्तामा उत्साह थपिएको छ । सेन्सेटिभ इण्डेक्स पनि १४ दशमलव ४१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४ दशमलव ७७ अंकले उकालो लागेको छ । १३ वटै उपसमूहको परिसूचक बढ्दा सेयर बजारमा हरियाली देखिएको छ । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै ४ दशमलव ९८ प्रतिशत बढेको छ ।

त्यस्तै विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ । होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ। किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ ।

अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको सेयर खरिदबिक्री भएकोमा आइतबार ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरका १ करोड २० लाख २ हजार कित्ता सेयर किनबेच भएका छन् ।

  • प्रकाशित मिति : साउन ८, २०८०, सोमवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८