• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

के सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको संलग्नता छ ?

  • खबरदाता

के सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको संलग्नता छ ?

साउन  ६, २०८०

राष्ट्रिय सभाका सांसद गोपाल भट्टराईले करिब एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ संलग्न रहेको आरोप लगाएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले गृहमन्त्री श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएको बताए ।

उनको भनाइ :

हाम्रो देशमा तस्करहरूले राज्य संचालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ। पावरमा भएकाहरू जोडिँदासमेत छानबिन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ ।भर्खरै समातिएको करिब एक क्विन्टल सुनको बारेमा पूर्वसभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरू आएका छन्। सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ब्रेक सू भनेर भन्सार छली भएको छ। यो एक, डेढ महिना यही प्रक्रियाबाट चारपाँच पटक भित्रिएको भन्ने सुनिएको छ। अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन। हेर्न बाँकी छ।

सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरुनै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वास समेत आफूहरुलाई नभएको बताए।उनले सुन तस्करहरूले राज्य सञ्चालनमै हस्तक्षेप गरिरहेको आभास भइरहेको समेत बताए ।यता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुने बताएका छन् । श्रेष्ठले यो प्रकरणमा आफ्नो सँलग्नता नभएकोसमेत दाबी गरेका छन।

श्रेष्ठले सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले घटनामा जोसुकै जोडिएको भए पनि कारबाहीबाट पछि नहट्ने बताए । शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने बताएका हुन् ।गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको सत्यतथ्य छानबिनका लागि जिम्मेवार निकायहरुलाई आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको पनि बताए। भन्सार जाँचका सवै प्रक्रिया पूरा गरेर करिब एक क्विन्टल सुन भन्सारबाट निस्कनु सामान्य घटना नभएको उनले बताए।

‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ’ मन्त्री श्रेष्ठले भने, ‘जस्तोसुकै र जोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यही विषयमा कुराकानी भएको उनले जानकारी गराए । भ्रष्टाचार र अपराधको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने जनाउँदै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेको पनि उनको भनाइ छ । सम्माननीय प्रधानमन्त्रीज्युको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेका छौँ । कसैले यसलाई भ्रम पार्न सकिन्छ कि विचलित बनाउन सकिन्छ भनेर नसोचे नि हुन्छ, गृहमन्त्री श्रेष्ठले भने ।

विमानस्थलको भन्सारमा प्रहरीलाई पनि सामेल गर्ने विषयमा सरकारले सोचिरहेको मन्त्री श्रेष्ठले बताए । गृहमन्त्री श्रेष्ठले सुन प्रकरणले केही प्रश्न समेत उठाएको र अब त्यसको पुनरावलोकन गर्ने समय आएको बताए। ‘विमानस्थलबाट यत्रो परिणाममा सुन पक्राउ पर्नुले देशको सार्वभौम सुरक्षा र हाम्रो निरगानीमा पनि प्रश्न उठाएको छ। यसले हामीले दिइरहेको सुरक्षा व्यवस्थामा पनि असर पारेको छ,’ श्रेष्ठले भने, ‘अपराध नियन्त्रणमा पनि चुनौती थपेको छ। यस्ता अपराधमा अन्तर्राष्ट्रियकरण हुँदै विमानस्थलको भन्सारमाथि प्रश्न उठाएको छ।’

  • प्रकाशित मिति : साउन ६, २०८०, शनिवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८