• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शिक्षा विधेयक अडकाएर सचिवलाई दोष दिँदै मन्त्री राई

  • खबरदाता

शिक्षा विधेयक अडकाएर सचिवलाई दोष दिँदै मन्त्री राई

साउन  ४, २०८०

 

संविधान जारी भएको आठ वर्ष र संघीय संरचनामा गएको ६ वर्ष पूरा हुँदा पनि सरकारले संघीय शिक्षा ऐन जारी गर्न सकेको छैन । जसकारण विद्यालय शिक्षा भद्रगोल छ ।

तर, शिक्षामन्त्री अशोक राई भने संघीय शिक्षा ऐनका लागि विधेयक अगाडि बढाउन छाडेर सचिवलाई दोष दिएर पन्छिरहेका छन् । तीन महिना अघि शिक्षामन्त्री भएका जसपा नेता राईले चाहेको भए अहिलेसम्म शिक्षा ऐन ल्याइसक्थे । कथमकथाचित प्रतिपक्ष असहमत भएमा पनि संसदमा सत्ताको स्पष्ट बहुमत छ ।तर, निजी विद्यालयमा अप्रत्यक्ष लगानी गरेका मन्त्री राई शिक्षा व्यापारीका कुरा सुनेर बसेका छन् । काठमाडौं महानगरका मेयर बालेन शाहले निजी विद्यालय कस्ने र सामुदायिक विद्यालय सुधार गर्ने नीति लिएपछि अत्तालिएका निजी विद्यालयका सञ्चालक जसरी पनि नियमनको अधिकार संघ सरकारले लिनुपर्ने भन्दै मन्त्री गुहार गरिरहेका छन् ।

विद्यालय शिक्षा सुधारसँगै शिक्षामा संघीयता ल्याउन छाडेर राईले भने बुधबार संसदीय समितिमा गैरजिम्मेवार अभिव्यक्ति दिए ।मन्त्रिपरिषद्का सचिव‚ सहसचिव विदेश गएकाले विद्यालय शिक्षा ऐनको प्रक्रिया रोकिएको उनले बताए । ‘तीन महिनामा विधेयक अगाडि नबढाएका राईले अहिले आएर सचिवलाई दोष दिएपछि कर्मचारीतन्त्र रुष्ट छ ।

मन्त्रिपरिषद्को विधेयक समितिमा रहेका दुई सचिव विदेश गएका छन् ।मन्त्री राईले बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिको बैठकमा भनेका छन् उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन भेटेको छैन । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगको प्रतिवेदन शिक्षा मन्त्रालय र मन्त्रिपरिषद् कार्यालयमा छ । तर, उनले अहिलेसम्म नभेटेको भनेर त्यो प्रतिवेदनलाई नकार्न खोजेका हुन् ।

मन्त्री राईले बुधबार सचिवलाई दोष दिइरँदा उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न र संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न र सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गर्दै प्रदर्शन भएको थियो ।

  • प्रकाशित मिति : साउन ४, २०८०, बिहीवार ०६:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८