• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

इच्छाकामनाका कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स

  • खबरदाता

इच्छाकामनाका कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स

साउन २,२०८०

 

 

चितवनको इच्छाकामना गाउँपालिकाले यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसाल, वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन ।

इच्छाकामनाको पहाडी भेगका कृषकले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज ढुवानीका लागि आर्थिक वर्ष २०७९÷८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको हो । एम्बुलेन्सको लागत ‘भ्याट’सहित रु २५ लाख ३४ हजार नौ सय ९९ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए ।

उनका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले लगानी गरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ । गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । “हामीले कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिँदै अगाडि बढेकाले कृषि उत्पादन बजारीकरणका थुप्रै योजना ल्याएका छौँ, त्यसअन्तर्गत कृषि एम्बुलेन्स पनि एक हो”, उनले भने , “यसले किसानको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पुर्याएर उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यत्तिकै खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौँ ।”

एम्बुलेन्स सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं १ र २ का काउले, हपनी, मायाटारलगायतका पहाडी भू–भागमा रहेका किसान लाभान्वित हुने जनाइएको छ ।रासस

  • प्रकाशित मिति : साउन २, २०८०, मंगलवार ०७:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८