• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

असंवैधानिक कोसी सरकार विरुद्धको मुद्दा लम्ब्याउदै सर्वोच्च

  • खबरदाता

असंवैधानिक कोसी सरकार विरुद्धको मुद्दा लम्ब्याउदै सर्वोच्च

असार २८, २०८०

 

 

सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनविरुद्धको मुद्दा लम्ब्याएको छ ।

कोसी प्रदेशका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर कांग्रेस नेतृत्वमा २१ असारमा सरकार गठन भएपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । रिटमा सरकार गठन खारेज र एमालेको नेतृत्वमा सरकार गठनको परमादेशको माग गरिएको छ ।

तर, सर्वोच्चले कोसी सरकार वैध कि अवैध भनेर निर्णय गर्न सकेको छैन । न्यायाधीश सपना मल्ल प्रधानको बुधबारको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी मात्र गरेको छ । २२ असारमा रिट दर्ता भए पनि यसअघि लगातार तेस्रो पटक ‘हेर्न नभ्याइने’मा परेको थियो । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराई, सोमबार न्यायाधीश सुष्मलता माथेमा र मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा उक्त मुद्दा हेर्न नभ्याइने भएको थियो ।

अदालतले बुधबार अन्तरिम आदेश दिए पनि मध्यमार्गी बाटो खोजेको छ । बरु साउन ७ गतेदेदेखि निरन्तर सुनुवाई गरेर निर्णयार्थ पेश गर्न भनेर लम्ब्याइएको छ । त्यसअघि मुख्यमन्त्रीमा थापालाई नियुक्ति गर्ने सन्दर्भमा पेश भएका प्रस्ताव, समर्थन, दाबी, हस्ताक्षरलगायतका कागजातसहित प्रदेश प्रमुखको असार २१ को निर्णयको सक्कल फाइल कोसी प्रदेश प्रमुखको कार्यालयबाट साउन ३ गतेभित्र झिकाउन भनिएको छ ।

‘साउन ७ गतेको पेशी तोकी पेशीको जानकारी निवेदक तथा महान्यायाधिवक्ता, मुख्य न्यायाधिवक्ता कोशी प्रदेशलाई दिई प्रस्तुत मुद्दा सो मितिदेखि निरन्तर सुनुवाईमा राखी निर्णयार्थ पेश गर्नू,ु’ आदेशमा भनिएको छ।

गठबन्धनले असंवैधानिक तरिकाले नयाँ सरकार गठन गरेको भन्दै शुक्रबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले वारेसमार्फत प्रदेश प्रमुख पर्शुराम खापुङ, नवनियुक्त मुख्यमन्त्री उद्वव थापा र सभामुख बाबुराम गौतमविरूद्ध मुद्दा दायर गरेका थिए।

गठबन्धनबाट कांग्रेसका २९, माओवादीका १२, एकीकृत समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य तथा सभामुख गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

विपक्षी गठबन्धन एमालेको ४० र राप्रपाको ६ गरी ४६ सिट छ । तर, कोसीमा सरकार गठनका लागि ४७ सिटको समर्थन चाहिन्छ ।

  • प्रकाशित मिति : असार २८, २०८०, बिहीवार ०६:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८