• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कोशी प्रदेश बन्यो अस्थिरताको नमूना,थापालाई पनि सहजै छैन

  • खबरदाता

कोशी प्रदेश बन्यो अस्थिरताको नमूना,थापालाई पनि सहजै छैन

असार २२, २०८०

 

मोरङ । प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठिरहेका बेला उत्पन्न अस्थिरताले आलोचनालाई नै जलमल गरिरहेको छ ।

प्रदेश संरचनाको ६ वर्षे इतिहासमा बिहीबार कांग्रेसका उद्धव थापा पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भए । कोशी प्रदेशको संसदीय गणित मिलाउन गठबन्धनको सरकार बनाउन कांग्रेस(माओवादी र एकीकृत समाजवादी)लाई त्यसै पनि सजिलो थिएन । कोशी प्रदेशले पहिलोपटक गैरवामपन्थी मुख्यमन्त्री पाएको छ । कोशीले नयाँ मुख्यमन्त्री पाएसँगै अस्थिरतामा पनि रेकर्ड राखेको छ ।

एमालेका हिक्मत कार्कीको सरकार एक मत नपुगेरै ढलेको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्ति गरेका छन् ।२०७४ मा प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा एमाले नेता शेरधन राई नियुक्त भएका थिए । त्यतिबेला राईले सहज रूपमा तीन वर्ष सरकार चलाए । राईपछि नेता भीम आचार्यलाई मुख्यमन्त्री भए । उनको कार्यकाल लामो भएन । एमाले विभाजन हुँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका नेता राजेन्द्र राई तेस्रो मुख्यमन्त्रीका रूपमा उदाए ।

२०७९ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले प्रदेशसभामा बहुमत प्राप्त गर्न नसक्दा बनेको एमाले नेतृत्वको गठबन्धनको सरकारमा हिक्मत कार्की चौथो मुख्यमन्त्री भए । विश्वासको मत प्राप्त गर्न नसक्दा कार्कीको सरकार ढल्यो । कांग्रेसका कोशी प्रदेश सभापतिसमेत रहेका उद्धव थापा कोशी प्रदेशका पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।थापाले पनि सहजै विश्वासको मत पाउने स्थिति छैन ।

प्रदेश प्रमुखलाई प्रस्ताव गर्न पार्टीहरूले सांसदहरूको संख्यासहित दाबी गरेका छन् । ३० दिनभित्र विश्वासको मत लिन ४७ जनाले मतदान गर्नुपर्ने हुन्छ । नेकपाभित्रको किचलो र एमाले विभाजनपछि भने प्रदेश सरकार निरन्तर अस्थिर बनेको छ ।

 

  • प्रकाशित मिति : असार २२, २०८०, शुक्रवार ०६:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८