• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बालेनको एकपछि अर्को बोल्ड निर्णय, त्रसित भए निजी विद्यालय सञ्चालक, अभिभावक खुसी

  • खबरदाता

बालेनको एकपछि अर्को बोल्ड निर्णय, त्रसित भए निजी विद्यालय सञ्चालक, अभिभावक खुसी

असार १८ ,२०८०

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह‘बालेन’ले निजी विद्यालयलाई नियन गर्न थालेपछि सञ्चालक रुष्ट भएका छन् । राजधानीसमेत रहेको काठमाडौंमा निजी विद्यालयले शुल्कदेखि छात्रवृत्तिमा मनोमानी गरिरहेका बेला मेयर शाहले कानुनअनुसार चल्न भनेपछि विद्यालय सञ्चालकहरु संघीय सरकारसँग हारगुहार गर्न थालेका हुन् ।

निजी विद्यालयले कति शुल्क लिन्छन्, कहिले भर्ना गर्छन् र छात्रवृत्ति के कतिलाई दिन्छन् शिक्षा मन्त्रालयलाई मतलब हुँदैन । काठमाडौं महानगरपालिका पनि यसअघि चुप भएको बसेको थियो । तर, मेयर शाहले महानगरको शिक्षा ऐनमा भएका व्यवस्था कार्यान्वयन गर्ने भन्दै एकपछि अर्को निर्णयमा जुटेका छन् । सामुदायिक विद्यालयको शिक्षा खस्किएको र निजी विद्यालयमा चर्को शुल्क रहेका बेला मेयर शाहले निजी विद्यालय वर्गीकरणको घोषणा मात्र गरेका छैनन् विद्यालयले कुन आधारमा कति शुल्क लिने हो प्रस्ताव गर्न भनेका छन् । निजी विद्यालयले प्रस्ताव गरेको शुल्क उपयुक्त र कानुन अनुसार भए मात्र लिन पाउने छन् । होइन भने महानगरले कारबाही गर्नेछ ।

शिक्षा ऐन अनुसार संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः शतप्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गरी जेहेनदारलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ । संस्थागत विद्यालयमा यो नियम कार्यान्वयन नभएपछि मेयर साहले पछिल्लो समय कडाइ गरेका छन् । आइतबार मात्र मेयर शाहले महानगरभित्रका निजी विद्यालयले दिने कक्षा ११ को छात्रवृत्तिका लागि महानगर आफैँले परीक्षा लिने घोषणा गरेका छन् ।

उनले महानगरले मापदण्ड बनाई परीक्षा लिने र सोहीअनुसार योग्यताक्रम तोक्ने जनाएका छन् । सामुदायिक विद्यालयमा पढेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी परीक्षा लिइने उनले बताएका छन् ।

बालेनले भनेका छन्, ‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०–०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

निजी विद्यालयमा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययन गरेको हुनुपर्छ । कुनै संस्थागत विद्यायलले आफ्नो नाममा नेसनल शब्द जोड्दा कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत हुनुपर्छ । इन्टरनेसनल शब्द जोड्न चाहे कम्तीमा एकतिहाइ विद्यार्थी विदेशी हुनुपर्छ । यसबाहेक विद्यालयको नामको अन्त्यमा स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्ने नियमावलीमा उल्लेख छ ।यसको साथै काठमाडौं महानगरका विद्यालयमा टाइ अनिवार्य व्यवस्था हटाइएको छ ।

यसले अभिभावक खुसी भएका छन् । मेयर शाहको निर्णयले निजी विद्यालयकै शिक्षक पनि खुसी छन् । निजी विद्यालयमा शिक्षकको श्रम शोषण भइरहेका बेला मेयर शाहले निजी विद्यालयको शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आएको भन्दै सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिन भनेका छन् । काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।

साथै मेयर शाहले सामुदायिक विद्यालयको गुणस्तर सुधारको योजना अघि सारेका छन् । व्यावहारिक शिक्षामा जोड दिनुपर्ने, आत्मनिर्भर बनाउन व्यावहारिक शिक्षा दिनुपर्ने, हरेक शुक्रबार बुक फ्री डे कार्यक्रम गर्नुपर्ने, शिक्षकको दरबन्दी बढाउने र दरबन्दी मिलान गरिनुपर्ने, विद्यालय गाभ्दा अपनाउनुपर्ने नियम अघि सारेका छन् । सामुदायिक विद्यालयका शिक्षकले हरेक चौमासिकमा तलब खान्छन् । तर, महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई हरेक महिना तलब खवाउन ३० करोडको जगेडा कोष स्थापना गरिएको छ ।

  • प्रकाशित मिति : असार १८, २०८०, सोमवार ०६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८