• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

रौतहटमा दाइजोको निहुँमा आमाछोरीको हत्या

  • खबरदाता

रौतहटमा दाइजोको निहुँमा आमाछोरीको हत्या

असार १६,२०८०

रौतहतमा दाइजोको निहुँमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका(४ बौधा परौराका धिरेन्द्र साह नामका व्यक्तिले दाइजोको निहुँमा २४ वर्षीया श्रीमती कविता र डेढ वर्षे नाबालिका छोरी आरोहीलाई निर्घात कुटपिट गरी हत्या गरेका हुन् । हिजो राति भएको घटनामा धिरेन्द्रको परिवारका अन्य सदस्य पनि संलग्न रहेको आशंका छ ।

तीन वर्षअघि समाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका -५ मिठुअवाका विजयशंकर साहले छोरी कविताको विवाह नागेन्द्र साहका छोरा धिरेन्द्रसँग गरिदिएका थिए । बिहेअघि उनले मोटरसाइकल, पलङ, भैँसी, सिक्री दिने कबुल गरेका थिए । तर यी सबै दिन नसकेका कारण धिरेन्द्रको परिवारले आफ्नी छोरी र नातीनीको हत्या गरेको विजयशंकरले बताए ।

दाइजो नल्याएको भन्दै ज्वाइँबाट बारम्बार दबाब सहनुपरेको कुरा छोरीले आफूलाई बताउने गरेको उनको भनाइ छ । ‘मैले दिन नसकेकाले अबोध नातिनीसहित छोरीलाई कुटीकुटी मारेु, उनले भने ।

ज्वाइँ धिरेन्द्रको परिवारले शुक्रबार राति १२ बजे छोरीलाई निर्घात कुटेर मारेपछि भर्‍याङमा झुण्ड्याएको र १८ महिने नातिनीलाई घरको पङ्खामा झुण्डयाएको उनले बताए । बिहान ३ बजे सम्धीका छिमेकीले फोन गरेपछि छोरी ज्वाइँको परिवारबाट मारिएको खबर उनले पाएका थिए ।

त्यसपछि आफूले प्रहरीलाई खबर गरेर मौलापुर पुगेको साहले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको बताए ।

श्रीमती र छोरीको हत्यापछि धिरेन्द्र साह र उनको परिवारका सदस्य फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख बुढामगरले बताए ।

  • प्रकाशित मिति : असार १६, २०८०, शनिवार १२:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८