असार १५,२०८०
गोरखामा प्रहरीले एक घरबाट ठूलो आकारको टल्कने ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका-७ स्थित सीतपीपलबाट लगभग ५४ किलोग्रामको टल्कने ढुङ्गा बिहीबार बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठका अनुसार उक्त ढुङ्गा ‘साइन स्टोन’ रहेको र सो बिक्री वितरण हुँदैछ भन्नेसम्मको सूचना मिलेपछि प्रहरीको टोलीले सम्बन्धित घर पुगी उक्त ढुङ्गा बरामद गरेर ल्याएको हो । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको भनिएको सो ढुङ्गा बरामद गरेर ल्याइएको प्रहरीको प्रष्टोक्ति छ ।
ढुङ्गा हेर्दा पारदर्शी ‘क्रिस्टल’ जस्तो रहेको उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भनेका छन्, ‘एकातिरबाट टर्च बाल्दा भित्रैबाट अर्कोतिर वारपार हुन्छ, अहिलेसम्मको अध्ययनमा ‘साइनिङ स्टोन’ हो भन्ने हाम्रो बुझाइ छ ।’
बरामद गरिएको ढुङ्गाका बारेमा भू-गर्भविद्सँग भिडियोमार्फत जानकारी लिएको र भू-गर्भविद्ले बरामद गरिएको वस्तु ‘वाच क्रिस्टल’ भएको हुनसक्ने बताएको जानकारी दिएको बताइएको छ । बरामद गरिएको टल्कने ढुङ्गा चोरी गरिएको नभइ पुर्ख्यौलीरूपमा घरमा राखिएको अवस्थामा पाइएकोे प्रहरीले जनाएको छ ।
बरामद गरिएको बस्तु के हो भन्ने कुरा परीक्षणपछि मात्र थाहा हुने उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भनेका छन् ‘पुरातात्विक महत्त्वको हो भने राज्यले सङ्ग्रहालय वा अन्य आधिकारिक सरकारी निकायमा पठाउनेछ, बहुमूल्य हो वा होइन भन्ने कुरा परीक्षणपछि मात्र पत्ता लाग्छ, अहिले नै बहुमूल्य भन्ने मिल्ने अवस्था छैन ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८