असार १०, २०८०
मिटरब्याज जाँचबुझ आयोगमा ६७ जिल्लाका २२ हजार मिटरब्याज पीडितले उजुरी दिएका छन्।
पीडितको उजुरी लिन र छानबिन गर्न बनेको मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी जाँचबुझ आयोगमा १७ वैशाखदेखि १४ जेठसम्म परेका उजुरीमाथि छानबिन भइरहेको छ ।
आयोगले शनिबार विज्ञप्ति जारी गरी मधेशका ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट ) मा १७ हजार ८०० र पश्चिम नवलपरासीमा १ हजार ८८९ वटा उजुरी परेको जानकारी दिएको छ । त्यस्तै रुपन्देही र काठमाडौंमा ५-५ सय वटा उजुरी परेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरेर उजुरी लिइएको हो । जाहेरीमाथि अध्ययन र छानबिनको काम सुरु भएको उनले बताए ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि २० चैतमा गौरीबहादुर कार्कीको अध्यक्षतामा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । जनकपुरधाममा मुख्यालय रहेको आयोगले पीडितबाट उजुरी संकलन र मेलमिलाप गराउँदै आएको छ ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८