• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बजेट संशोधन प्रतिष्ठाको विषय बनेपछि सरकार नै संकटमा

  • खबरदाता

बजेट संशोधन प्रतिष्ठाको विषय बनेपछि सरकार नै संकटमा

असार ९, २०८०

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार संकटमा परेको छ । माओवादी, एकीकृत समाजवादी, जसपासहित गठबन्धनमा आवद्ध दलले बजेट संशोधन हुनुपर्ने अडान राख्नुका साथै प्रधानमन्त्री प्रचण्डले नै गठबन्धनको बैठकमा सहमति भएको भन्दै संशोधन हुने भनेर मिडियामा सार्वजनिक गरेपछि कांग्रेस रुष्ट भएको छ ।खासगरी अर्थशास्त्रीसमेत रहेका प्रकाशशरण महतले ल्याएको बजेटलाई कांग्रेसले प्रतिष्ठाको विषय बनाएको छ । बजेट संशोधन हुनु भनेको कांग्रेसका अर्थमन्त्री महत फेल हुनु हो भन्ने तर्क कांग्रेसमा छ ।

त्यही भएर कांग्रेस कुनै हालतमा बजेट संशोधन गर्न नहुने अडानमा छ । तर, विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई देखाएर लोडसेडिङ अन्त्यको जस लिइरहेको माओवादीले ५० युटिनसम्म विजुली निशुल्क दिने घोषणा गरेपनि बजेटमा नपरेपछि रुष्ट छ । त्यसबाहेक महतले आर्थिक संकट रहेको भन्दै विकासे मन्त्रालयका समेट बजेट कटौती गरिदिएपछि

माओवादी, जसपा र एकीकृत समाजवादीका मन्त्रीहरु रुष्ट छन् । उनीहरु फुक्काफाल बजेट चाहन्थे । तर, महतले त्यसो हुन दिएनन् ।त्यही भएर माओवादी नेताहरु कांग्रेसलाई सबक सिकाउनैका लागि भए पनि बजेट संशोधन गर्न चाहन्छन् । माओवादी, एकीकृत समाजवादी र जसपाका कारणले नै संसदबाट अझै बजेट पारित हुन सकेको छैन । बागमतीमा पूर्वमुख्यमन्त्रीसमेत रहेका एसका सांसद राजेन्द्र पाण्डे निकै कडा भएर प्रस्तुत भइरहेका छन् ।उनी बजेट संशोधन नभए पक्षमा मत नदिने अडानमा छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेकी सरकारका प्रवक्ता रेखा शर्माले बजेटमा संशोधन गर्दैमा सरकार नै असफल हुन्छ भन्ने नहुने बताएपछि कांग्रेस झनै झस्किएको छ । उनले अहिले बजेटमाथिको छलफल चलिरहेको भन्दै आवश्यकता परेको अवस्थामा सरकारले बजेट संशोधन गर्न पनि सक्ने र त्यस्तो नभएमा पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएकी थिइन् ।ज्सपा अध्यक्ष उपेन्द्र यादवले अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरूसँग छलफल नै नगरिकन ल्याइएको बताइसकेका छन् । ‘बजेटले पूरै मधेशलगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ, त्यसकारणले यसलाई सच्याउनुपर्छ भनेर सुधार गर्नुपर्छ भनेर हामीले भनेका छौँ । नसच्याइ बजेट पास हुन कठिन छ,’ उनले पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा भने ।माओवादी केन्द्रका प्रमुख सतेचक हितराज पाण्डेले बजेट सच्याउनुपर्ने तर्क गरिरहेका छन् ।

यदि अर्थमन्त्री महतको बजेट संशोधन गर्नु परेमा कांग्रेसले नयाँ अर्थमन्त्री पठाउनुपर्ने माग कांग्रेभित्र उठिरहेको छ । समानुपातिक सांसद भएर पनि अर्थमन्त्री बनेका महत सभापति शेरबहादुर देउवा निकट हुन् । त्यही भएर देउवा पक्ष उनलाई असफल हुन वा असफल अर्थमन्त्रीको ट्याग भिडाउने पक्षमा छैन । महामन्त्री गगन थापाहरु यही मौकामा महतलाई अर्थमन्त्रीबाट हटाउन पाए हुन्थ्यो भन्ने पक्षमा त छन् तर देउवाले नचाहेर हुँदैन ।

हाल विदेशमा रहेका देउवा पनि कुनै पनि हालतमा महतललाई हटाउने पक्षमा छैनन् ।माओवादीसहितका दलले बजेट संशोधनको माग उठाएपछि देउवा निकट केही नेताहरुले एमालेसँग छलफल बढाएका छन् । यदी सरकारमा नरहने स्थिति बनेमा एमालेको सहयोगमा आफ्नो नेतृत्वमा सरकार बनाउने दाउमा कांग्रेस छ । कांग्रेस बजेट सच्याउने तयार नभए सरकार ढाल्न तयार भएको अर्थमा बुझिने छ ।

  • प्रकाशित मिति : असार ९, २०८०, शनिवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८