• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने

  • खबरदाता

आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने

जेठ २७ २०८०

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ठूलो पानी नपर्दा र मनसुनी गतिविधि सुरु नहुँदा देशैभर गर्मी बढेको छ । हिमाली भेगमा समेत गर्मी बढ्दा जनजीवन कष्टकर बनेको छ ।

यसैगरी, स्थानीय वायुको प्रभावका कारण देशको पूर्वी भेगमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको र पूर्वको तापक्रम केही घट्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मध्य र पश्चिम तराईमा भने अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको छ । पूर्वी क्षेत्रमा देखिएको बदली मध्य र पश्चिमसम्म पुग्दा गर्मी विस्तारै घट्दै जाने उनको भनाइ छ ।

तत्काल मनसुन भित्रिने सम्भावना नदेखिए पनि अब मनसुनी गतिविधि बढ्न सक्ने उनले बताए। शुक्रवार देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ ।

निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ । तातो हावाबाट बच्न घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञले आग्रह गर्दै आएका छन् ।

  • प्रकाशित मिति : जेठ २७, २०८०, शनिवार ०९:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८