• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

पशुपक्षीको कल्याण गरे मानवजातिको कल्याण हुन्छ


पशुपक्षीको कल्याण गरे मानवजातिको कल्याण हुन्छ

जेष्ठ १९, २०८०

चितवन । चितवनका पशुपंक्षी अधिकारकर्मीहरुले घरपालुवा तथा व्यवसायिक पशुपक्षीलाई मानिसले यातना दिएको भन्दै गुनासो गरेका छन । यस धर्तीमा मानवजातिको जत्तिकै पशुपक्षीको पनि अधिकार हुनुपर्ने हुंँदै पशुपक्षी पालन गर्दा उनीहरुको अधिकारलाई पनि सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

शुक्रबार एनिमल नेपालले भरतपुरमा अन्र्तक्रिया कार्यक्रम गरी पशुपक्षी पालन गर्दा उनीहरुको दाना पानी र स्वतन्त्रतामा ध्यान दिनुपर्ने बताएका हुन् ।

एनिमल नेपालको चितवन संयोजक सुमेदा गौतम मैनालीले पशुपक्षी पालन गर्दा, ढुवानी गर्दा यातना दिएको भन्दै यसलाई रोक्नु पर्ने बताउनु भयो । नेपालमा पशुपक्षीको ढुवानी गर्दा पशु ढुवानी मापदण्ड कार्यान्वयन नभएको भन्दै उहांँले मासुकै लागि प्रयोग गरिने पशुपक्षीलाई पनि मर्नुअघि यातना दिने गरेको बताउनु भयो । यातना दिएर ढुवानी गरिएका र पालिएका पशुपक्षीको मासु मानव स्वास्थ्यका लागि पनि समेत स्वस्थ नहुने हुनाले यसका लागि सबै पक्ष लाग्नु पर्ने बताउनु भयो ।

केही बर्षदेखि एनिमल नेपालले चितवनमा अण्डा पार्ने कुखुराका लागि पिंजडामुक्त खोर अभियान सञ्चालन गरेको भन्दै उहांँले ठेलमठेल हुने गरी पिंजडायुक्त खोरमा कोचेर पालिएको कुखुराले स्वस्थ अण्डा नदिने समेत बताउनु भयो । ‘जबसम्म पशुपक्षीलाई यसरी कोचेर पालिन्छ, लगिन्छ त्यसको गम्भिर असर मानव स्वास्थ्यमा समेत पर्छ , उहांँले भन्नुभयो, पशुपक्षीको कल्याण गरे मानवजातिको पनि कल्याण हुन्छ ।

एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले लामो दूरीमा ढुवानी गर्ने पशुका लागि ठाउँ–ठाउँमा ‘होल्डिङ सेन्टर’ बनाउनुपर्नेमा जोड दिनुभयो । पशुपक्षीको स्वास्थ्य परीक्षण गर्न भरतपुरको रामनगरमा क्वारेन्टाइन चेक पोस्ट रहेको छ । उक्त चेक पोस्टनजिक एउटा होल्डिङ सेन्टर बनाउनुपर्ने उहांँको भनाई छ ।

‘रामनगरमा रहेको क्वारेन्टाइन चेक पोस्टनजिक एउटा होल्डिङ सेन्टर बनाइयो भने पशुलाई राहत हुनेथियो’, उनले भनिन्, ‘लामो दूरीमा पशु ढुवानी गर्नेले पशुलाई चाहिने दानापानीको व्यवस्था गर्नुपर्छ । त्यो ढुवानी मापदण्डमा पनि व्यवस्था छ, तर हाम्रो देशमा त्यो पालना भएको छैन ।’ राणाले भन्नुभयो ।

अब आउने महामारी जनावरबाट मानिसमा सर्ने रोगको हुने भनेर विश्व स्वास्थ्य संगठनले भनेको भन्दै उहांँले पशुपक्षीको पालन र ढुवानीमा ध्यान दिनुपर्ने बताउनु भयो । ‘पशुपक्षीको मासु उपभोग गर्नुस तर, काट्दा र ढुवानी गर्दा यातना दिएर नमारियोस ।’ राणाले भन्नुभयो ।

  • प्रकाशित मिति : जेठ १९, २०८०, शुक्रवार २०:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८