जेठ ३ ,२०८०
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिएर सक्रिय राजनीतिमा फर्काउने गठबन्धन सरकारको योजनामा तुसारापात लागेको छ । सर्वोच्च अदालतले मंगलबार फैसला गर्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गर्दै जन्मकैद हुने ठहर गरेसँगै अब रेशम सक्रिय राजनीतिमा फर्कने बाटो टुंगिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।गठबन्धनको घटक रहेको नागरिक उन्मुक्ति सरकारमा छ, यो दलका अध्यक्षसमेत रहेकी रञ्जिता चौधरी सहकारीमन्त्री छन् । उन्मुक्तिको माग पूरा गर्न सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत मुलुकी अपराध संहिता संशोधनको तयारी थालेको थियो । अपराध संहितामा दफा ११६क थप गरेर विचाराधी मुद्दा फिर्ता लिनसक्ने प्रावधान राखेको प्रस्ताव संसदमा पुगेका बेला मंगलबार फैसला भएपछि अब मुद्दा फिर्ताको बाटो बन्द भएको हो । रेशम आममाफी भन्दा पनि मुद्दा फिर्ता होस् भन्ने चाहन्थे । किनकी उनी फेरि राजनीतिमा आउन चाहन्थे । फरार रहेकै अवस्थामा ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन जितेपछि रेशमले आफ्नी श्रीमतीको अध्यक्षतामा पार्टी नै खोले । ०७९ को निर्वाचनमा यो दलबाट चार जना संघीय सांसद छन् ।
अब रेशमले कैद सजाय माफीका लागि निवेदन दिन सक्छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार सजाय माफी दिन सक्ने व्यवस्था छ । त्यसका लागि कसुरदारले सजाय माफीका लागि गृह मन्त्रालयमार्फत राष्ट्रपति समक्ष निवदेन दिनुपर्छ । कसुरको प्रकृति, सकुरदारको उमेर तथा शारीरिक अवस्था, थुनामा रहे, नरहेको अवस्था हेरेर राष्ट्रपतिले सजाय माफी गर्ने, मुलतबी राख्ने, परिर्वतन गर्ने वा कम गर्न सक्छन् ।रेशमको मुद्दा कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यानमार्ने उद्योग हो । कैद माफीका लागि कम्तीमा ४० प्रतिशत कैद सजाय भुक्तान गरेको हुनुपर्छ । १४ फागुन २०७४ मा जिल्ला अदालत, कैलालीमा आत्मसमर्पण गरेका रेशमले कैद सजाय माफीका लागि आवेदन दिन २०८२ फागुनसम्म जेल बस्नुपर्छ ।
जन्मकैद फैसलाको पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था रहे पनि रेशमको हकमा त्यो सम्भावना पनि छैन ।न्याय प्रशासन ऐन अनुसार उच्चले जन्मकैदको फैसला सुनाएको मुद्दामा साधक जाँचका लागि सर्वोच्च पठाउनुपर्ने व्यवस्था छ । साधक जाँचको बाटो हुँदै रमेशको मुद्दा सर्वोच्च पुगेको भएपनि पुनरावलोकन हुनसक्ने देखिदैन ।किनकी मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण रहेको तथ्य मुद्दाको किनारा भएपछि मात्र सम्बन्धित पक्षलाई थाहा भएको देखिएमा वा सर्वोच्च अदालतबाट स्थापित नजीर वा कानुनी सिद्धान्तको प्रतिकुल फैसला वा अन्तिम आदेश भएको देखिएमा मात्र पुनरावेदन हुन्छ । रेशमको हकमा यी दुबै व्यवस्था आकर्षित हुँदैन ।
यी दुई अवस्थामा मुद्दामा भए नभएको निक्र्योल गरी पुनरावलोकन अघि बढाउन संयुक्त इजलासले निस्सा (अनुमति) दिनुपर्नेछ। निस्सा दिएको अवस्थामा मात्रै रेशम चौधरीमाथि भएको जन्मकैदको फैसला हेरफेर हुनसक्नेछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८