• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बालकृष्ण खाँणसँगै सति जान लागेको हो कांग्रेस ?

  • खबरदाता

बालकृष्ण खाँणसँगै सति जान लागेको हो कांग्रेस ?

बैशाख २९, २०८०

 

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण अहिले प्रहरी थुनामा छन् । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका हुन् । गृहमन्त्री छँदा नक्कली भुटानी बनाउने गिरोहसँग मिलेर रकम असुलेको आरोप उनीमाथि छ ।गृहमन्त्री भइसकेका र कांग्रेसका शक्तिशालीमध्येका नेता खाणँ संगठित अपराधमा पक्राउ पर्दा पनि कांग्रेसले केन्द्रीय सदस्यबाट निलम्बन गरेको छैन ।

आफ्नी पत्नी आरजु राणा पराजित भएको झोकमा कैलालीका नेतादेखि, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरीलाई मेयरमा नसघाउने चितवनका कांग्रेस नेतालाई पार्टीबाटै निस्काशन गर्नसमेत पछि नपर्ने सभापति देउवा खाणलाई बचाउन लागिपरेका छन् । हुन् पनि नेविसंघ, तरुण दलका पूर्वअध्यक्ष भइसकेका र पाँच पटक मन्त्री, राज्यमन्त्री बनिसकेका खाण देउवा खेमाकै नेता हुन् । त्यही भएर पनि देउवा खाणलाई निलम्बन गर्न चाहदैनन् । अर्कोतिर देउवा पत्नी आरजु राणा पनि यो प्रकरणमा मुछिएको आरोप लाग्दै आएको छ । यद्यपि, आरजुले खण्डन गरिसकेकी छन् । यो प्रकरण आरजुसम्म पनि आइपुग्ने भयका कारण देउवा निकै तनावमा छन् ।

देउवाले बुधबार साँझ पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए । बैठकमा त्यसबारे छलफल भए पनि नेता खाणलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा भने निष्कर्षमा पुग्न सकेन । सहमहामन्त्री जीवन परियारका अनुसार पूर्वगृहमन्त्री खाणका सम्बन्धमा छलफल भए पनि त्यसबारे पार्टीले अहिले कुनै पनि निष्कर्ष निकालिएको छैन ।बैठकमा उपसभापतिसमेत रहेका कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने अडान लिएका थिए ।

संस्थापन इतर पक्ष निलम्बनको पक्षमा रहे पनि संस्थापन पक्षले प्रतिवाद गरेको छ । सहमहामन्त्री महेन्द्र यादवले प्रतिवाद गरे । अरु कतिपय नेताले पनि विगतमा पनि यस्ता घटना हुँदा निलम्बन नगरेको तर्क गरेका थिए ।‘कुनै पनि मुद्दामा अनुसन्धानको क्रममा कोही पनि व्यक्ति पक्राउ पर्नेबित्तिकै ऊ दोषी ठहर भएको भन्ने हुँदैन भन्दै संस्थापन पक्ष निलम्बन नगर्ने पक्षमा छ ।यो प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी पनि मुछिएका छन् । उनीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि फरार छन् । यद्यपि, एमालेले उनलाई निलम्बन गरिसकेको छ ।

  • प्रकाशित मिति : वैशाख २९, २०८०, शुक्रवार ०५:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८