• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

भरतपुरका सडकमा वृक्षरोपण

  • खबरदाता

भरतपुरका सडकमा वृक्षरोपण

चैत्र १७,२०७९

 

 

‘जनताको रहर, हरित सहर’ कार्यक्रमअन्तर्गत भरतपुरका सडकमा वृक्षरोपण गरिएको छ । भरतपुरको बाइपास सडकअन्तर्गत विशालचोकबाट मालपोतचोकसम्मको ‘डिभाइडर’ मा वृक्षरोपण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले वृक्षरोपण शुभारम्भ गरिन् । सो क्रममा उनले भरतपुरका सयौँ किलोमिटर सडकलाई सौन्दर्यकरण गर्न प्राथमिकतामा राखेको उल्लेख गरिन् । महानगरले ‘एक घर दुई बिरुवा’ को नीति लिएर सुन्दर हरियाली सडक तथा वातावरणमैत्री सहरका रूपमा अगाडि बढाउँदै लगिएको प्रमुख दाहालले बताइन् ।

“यस क्षेत्रमा राष्ट्रिय तथा सामुदायिक वन भए पनि स्वच्छ र हराभरा सहरका रूपमा परिचत गराउन सहर क्षेत्रका सडकमा वृक्षरोपण गरिएको हो”, प्रमुख दाहालले भनिन् ।

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले यस आर्थिक वर्षमा भरतपुरसहित २४ पालिकामा सहर केन्द्रित वृक्षरोपण कार्यक्रम सञ्चालन भएको जानकारी दिए । उनले सहरमा वृक्षरोपण गर्नाले चारदेखि पाँच डिग्रीसम्म तापक्रम न्यूनीकरण गर्न सकिने अध्ययनले देखाएकाले वृक्षरोपणलाई प्राथामिकता दिइएको औँल्याए ।

पौडेलले जनसङ्ख्याको वृद्धिसँगै वृक्षरोपणलाई पनि बढाउँदै सहरलाई सौन्दर्यकरण गरी हरित सहर निर्माणमा सबै जुट्नुपर्नेमा जोड दिए । विकसित सहरमा कुल बजेटको १५ प्रतिशत रकम हरियाली प्रवर्द्धनमा विनियोजन गर्ने परिपाटी रहेको उनको भनाइ थियो ।

भरतपुर बाइपास रोडमा भएका डिभाइडरमा भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा सजियम र बौगेनवेलियाका बिरुवा लगाइने छ ।

महानगरले छ लेन सडक, बाइपास र भित्री सडकमा हरियाली प्रवद्र्धन गर्ने नीति लिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, वडा सदस्य ऋषि थापालगायतको उपस्थिति थियो ।

  • प्रकाशित मिति : चैत १७, २०७९, शुक्रवार १७:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८