चैत्र ५, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिनु भन्दा पनि सत्ताको भागवण्डा मिलाउन कठिन हुने देखिएको छ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित १० दल खुलेरै प्रधानमन्त्रीको पक्षमा लागेको हुँदा उनलाई विश्वासको मत पाउन कठिन देखिदैन । विश्वासको मत दिने सबै दललाई मन्त्रालयको भागवण्डामा चित्त बुझाउन भने प्रधानमन्त्रीलाई अत्यन्तै मुक्किल पर्ने देखिन्छ ।
दलहरुले शर्त राखेरै विश्वासको मत दिने हुँदा सर्त सम्बोधन गर्न भने जटिल छ । कांग्रेसले गृह, अर्थलगायत कम्तिमा आठ मन्त्रालयमा दाबी गरेको छ । त्यसो त यी मन्त्रालयमाथि एकीकृत समाजवादीको पनि दाबी रहँदै आएको छ ।
गठबन्धनमा रहेका दलका एकएक जना सम्बैधानिक अगंमा निर्वाचित भईसकेको हुँदा आफूले पनि रोजेको मन्त्रालयहरु पाउनुपर्ने उनीहरुको तर्क छ । एमालेसँगको गठबन्धन भत्किएपछि बनेको नयाँ समीकरणमा सत्ताको भागबण्डा भने दाहालका लागि अप्ठ्यारो हुने देखिन्छ ।
जनता समाजवादी र एकीकृत समाजवादीको माग पनि सम्मानजनक शक्ति बाँडफाँट भन्ने नै छ । राष्ट्रिय स्वतन्त्र पार्टी सर्मथनका लागि केही सर्त राख्न खोज्दै छ, जुन शक्ति बाँडफाँटमै केन्द्रीत हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड सोमबार संसदबाट विश्वासको मत लिने तयारीमा छन् । उनले साढे दुई महिनाको बीचमै दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलोपटक विश्वासको मत लिँदा २७० सांसद उपस्थित थिए ।
तीमध्ये २६८ जनाले दाहाललाई समर्थन गरे । अहिले त्यो समीकरण परिवर्तन भएको छ । दाहालको पक्षमा ठूलो दल नेपाली कांग्रेस , जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टी खुलेरै लागेका छन् ।विगतमा अर्थ र गृह दुवै अरु दललाई दिएको भन्दै दाहालको पार्टीभित्र चर्को आलोचना भएको थियो ।
अर्कोतर्फ नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइसम्मका सर्त राख्ने बताउँदै आएको छ । यसरी धेरै दललाई चित्त बुझाउन दाहाललाई सहज छैन ।किनकि कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै छन् । विश्वासको मत पाएर सरकारलार्इ पूर्णता दिएपछि पनि दाहाललार्इ बहुमत जोगाइ राख्न चुनौती छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८