• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

घण्टी बजाउँदै आएकाहरू घाँडो भए : माधव नेपाल

  • खबरदाता

घण्टी बजाउँदै आएकाहरू घाँडो भए : माधव नेपाल

फागुन ७, २०७९

 

 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुरानो पार्टी चाहिंदैन भनेर आएको नयाँ पार्टी पनि घाँडो भएको बताएका छन्।

कीर्तिपुरमा आयोजित अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ गर्छौं भनेर आएको पार्टी झन् खराब देखिएको बताएका हुन्। “घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे, जनताले। पहिले त के के न गर्ला भनेर लागिरहेको थियो,” राष्ट्रिय स्वतन्त्र पार्टीलाई इङ्गित गर्दै अध्यक्ष नेपालले भने, “पुरानो पार्टीबाट हुँदैन, नयाँ चाहिन्छ, पुरानाहरूलाई छोडौं भन्नेहरू घाँडो भए।”

राष्ट्रिय स्वतन्त्र पार्टीकै कारण सत्तारूढ गठबन्धन पनि सङ्कटमा परेको उनको भनाइ थियो। “अदालतको आदेशले पदबाट हटे। पदका लागि आशक्त भएर त्यही पद चाहिन्छ भनेर हैरान पारेपछि गठबन्धन पनि सङ्कटमा परेको छ,” नेपालले भने, “कुन दिन गठबन्धन भत्किने हो, ठेगान छैन।”

परस्पर विरोधी विचारधाराका पार्टीको गठबन्धन भएकाले छिटै भत्किने नेपालको आकलन थियो। “गठबन्धनमा राजा ल्याउनुपर्छ भन्ने प्रतिगामी छन्, संघीयता विरोधी पनि छन्। वामपन्थीहरू पनि छन्। संविधान विरोधी पनि छन्, संविधानका रक्षक पनि छन्,” अध्यक्ष नेपालले भने, “राष्ट्रपतिको निर्वाचनबाट गठबन्धनको टुङ्गो लाग्छ, राजनीतिले नयाँ ‘कोर्स’ लिन्छ।”

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते तय भएको छ। त्यसअघि फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ।

  • प्रकाशित मिति : फागुन ७, २०७९, आइतवार १७:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८