• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बसपार्क दंगाले देखाएको गम्भीर चित्र, नेताहरूले देखे त ?

  • खबरदाता

बसपार्क दंगाले देखाएको गम्भीर चित्र, नेताहरूले देखे त ?

फागुन ३, २०७९

 

 

काठमाडौं । एक कलाकारले रवि लामिछानेलाई चिन्दिनँ भनेका भरमा सामाजिक सञ्जालमा हुलदंगा बेहोरिरहेकै थिइन् । ठिक त्यही बेला । सोमबार काठमाडौं उपत्यकामा यातायात मजदुरले गरेको आन्दोलन हुलदंगामा परिणत भयो । यातायात कानुन मान्दिनँ भन्दै मजदुरहरू सुरक्षाकर्मीका भौतिक संरचना तोडफोडदेखि निजी सम्पत्ति लुटपाटमा उत्रिए ।

ट्राफिक प्रहरीले नियम पालनामा कडाइ गर्दाको प्रतिक्रियाका रुपमा पोखिएको आक्रोशभित्र वर्तमान राज्यसत्ताप्रतिको वितृष्णा, अनादर र अवज्ञाभावको मुस्लो देखिएको छ ।हुन त आफ्ना नाजायज माग पूरा गराउनका निम्ति बन्द, हड्ताल, आगजनी गर्ने, सार्वजनिक, सरकारी सम्पत्ति नष्ट तुल्याउने हर्कतमा कमी आएको छैन । आन्दोलनबाट सडकमात्र होइन, देशकै प्रशासनिक केन्द्र सिंहदरबारसमेत अछुतो छैन । गत साउनमा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमै सुब्बा तहका कर्मचारीले सरकारले असमान तलब वृद्धि गरेको भन्दै यस्तै अराजकता प्रदर्शन गरेका थिए ।

कानुनलाई हातमा लिने मात्र होइन, कानुनको अवज्ञा गर्न नीति निर्माता र निर्वाचित जनप्रतिनिधिहरु नै सक्रिय छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत माघ २२ गते पत्रकार सम्मेलन गर्दै आफूविरूद्ध सर्वोच्च अदालतले गरेको फैसलाप्रति रोष प्रकट गरे । चितवन २ मा निर्वाचित भएका लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि सांसदसहित, पार्टी सभापति र गृहमन्त्रीको पद गुमाएका थिए ।त्यस्तै गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला वीर अस्पतालका चिकित्सक सुरक्षाकर्मीद्वारा पिटिएको घटनाको विरोधमा चिकित्सकले आइतबार देशभरका सरकारी अस्पतालको बहिरंग सेवा ठप्प पारे । जसका कारण टाढाटाढाबाट उपचार सेवा पाउन अस्पताल पुगेका नागरिकले अनाहकमा दुःख पाए ।सोमबार उपत्यकामा यातायात मजदुरले गरेको आन्दोलनले हिंसात्मक रूप लियो । यातायातसम्बन्धी कानुन नमान्ने भन्दै सडकमा उत्रिएको भिडले प्रहरीका भ्यान मात्रै जलाएन, निजी सम्पत्तिमा समेत लुटपाट मच्चायो ।

यी दृष्टान्तले जुनसुकै तहमा भए पनि नेपालमा कानुन नमान्ने, कानुन हातमा लिने र अराजकता फैलाउने प्रवृत्ति घातक तहमा पुगेको प्रस्ट पार्छन् ।देशमा अहिले आर्थिक मन्दी छ । धेरैले रोजगारी गुमाएका छन् । व्यापार डुबेको छ । व्यवसायीहरु हतोत्साही भएका छन् । न्यून आय भएको वर्गलाई महँगीले थला पारेको छ । गरी खाने वर्ग कर र अरु प्रकारका राजस्वले निचोरिएको छ । कर्मचारी र नेताहरु मात्र नाफामा छन् । अनि सरकारमा बसेर जनताको पैसामा मोज गरिरहेको नांगा आँखाले देखेका हरेक तप्काका मानिसभित्र आक्रोशको आगो बलिरहेको छ ।

यो आगो कुनै पनि बेला कुनै पनि बहानामा विष्फोट हुन सक्छ भन्ने बालाजु बसपार्कको घटनाले देखाएको छ । अब यो घटना पासपोर्टका लागि लाइन बसेका ठाउँमा दोहोरिन सक्छ । श्रम इजाजतका लागि युवा भेला भएका ठाउँमा देखिन सक्छ । म्यानपावर व्यवसायीले ठगेपछि प्रताडित भएकाहरुले आक्रोश ओकल्न सक्छन् । महँगी सहन नसकेकाहरुको भिड जहाँसुकै उत्तेजित हुन सक्छ । अदालतमा न्याय नपाउँदा पीडितहरु भड्किन सक्छन् । बैंकको ब्याज तिर्न नसकेका र सहकारीको आफ्नै निक्षेप पनि नपाएकाहरुको बोल्नै बाँकी छ । सुकेको जंगलमा एक झिल्को आगो जहाँ जुन बहानामा पनि सल्किन सक्छ ।

नेताहरुले जनताको भावनासँग नराम्रोसँग खेलिरहेका छन् । सुदूरपश्चिममा ३० दिनमै सरकार ढालेर बहादुरी देखाइएको छ । संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल दिउँसो ओलीसँग भ्यालेन्टाइन्स डे र साँझ देउवासँग चियर्स गरेर स्थायित्व र सुशासनको अपेक्षा गरिरहेका जनताको भावनासँग खेलवाड गरिरहेका छन् । रवि लामिछाने बाहिरिएपछि गृह मन्त्रालयको घाँस देखाएर कांग्रेस नेताहरुलाई लोभ्याइरहेका छन् । सत्ताको यो कुहिगन्धे खेलले पनि अनेकौं समस्याका कारण निस्सासिएका जनतालाई भित्रभित्रै भड्काइरहेको छ । जुनसुकै बेला देश बल्न सक्छ । जुनसुकै बेला सडकका रेलिङ भाँचिन सक्छन् । जुनसुकै बेला श्रीलंकामाझैँ सिंहदरबार, बालुवाटार र शीतलनिवास कब्जा हुन सक्छन् । इलामका प्रेम आचार्यले त आफ्नै ज्यानमा आगो लगाए ।

सबैको विद्रोहचेत एकै खालको हुँदैन । तर विद्रोह विष्फोट भएपछि ठूलो भिडले आँखा देख्दैन । क्षतिको आकलन गर्दैन । त्यसले आफ्ना वा अरुका नेता पनि छुट्याउँदैन । असल वा खराब कर्मचारी पनि भन्दैन । उसले केवल अन्यायी सत्ता देख्छ । बिलासी दरबार देख्छ । हिजो बसपार्कमा मोबाइल पसल लुटियो । भोलि बैंकका ढुकुटी लुटिनेछन् । नेताका घर लुटिनेछन् । कर्मचारीका बंगला फोरिनेछन् । समय छँदै चेत खुलोस् । जनभावनामा धेरै खेलवाड नहोस् ।

  • प्रकाशित मिति : फागुन ३, २०७९, बुधवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८