फागुन २, २०७९
काठमाडौँ। राज्यका तीन अंगमध्ये न्यायपालिकाको काम हो, कार्यपालिकाले गरेका निर्णयको चेक एन्ड ब्यालेन्स गर्ने अनि व्यवस्थापिकाले बनाएका कानुनको व्याख्या गर्ने । र, नागरिकलाई न्याय दिने ।तर न्यायालयको सर्वोच्च निकाय सर्वोच्च अदालत भने एक वर्षदेखि कामुको भरमा चलिरहेको छ ।तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि १ फागुन ०७८ मा महाभियोग दर्ता भएसँगै सर्वोच्च नेतृत्वविहीन बनेको थियो । यो एक वर्षमा सर्वोच्च कहिले निमित्त त कहिले कामुको भरमा चलेको छ, जसकारण न्यायिक संयन्त्र नै प्रभावहीन बनेको छ ।
जबरामाथि महाभियोग लागेसँगै दीपककुमार कार्की साढे सात महिना कामु प्रधानन्यायाधीश बने । पछिल्लो साढे चार महिनादेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन् ।योबीचमा संवैधानिक परिषद् पनि सक्रिय बनेको छैन । प्रधानमन्त्रीको नेतृत्वमा रहेको परिषद्ले कहिले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउँछ यकीन छैन ।यसैबीच नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्तिका लागि ध्यानाकर्षण गराएको छ । ‘न्यायपालिकालाई स्वतन्त्र, सक्षम र उत्तरदायी त्यसको नेतृत्वको पूर्णता एवं पदको सुनिश्चितता अपरिहार्य छ ।
न्यायपालिकाको नेतृत्वको रूपमा रहेको सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक प्रावधान अनुसार यथोचित समयमै हुनुपर्नेमा एक वर्षभन्दा बढी समयदेखि कायममुकायमको नेतृत्वमै चल्नुपर्ने अवस्था रहनु संवैधानिक व्यवस्था, लोकतन्त्र र कानुनको शासन अनुकूल मान्न सकिन्न,’ नेपाल बारले भनेको छ, ‘प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक दायित्व पूरा गर्नुपर्ने सम्बन्धित निकाय तथा पदाधिकारीहरूले आफ्नो दायित्व पूरा नगरी न्यायपालिका कायममुकायमको नेतृत्वमा चल्नु परिरहेको अवस्थाप्रति नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ।’
न्यायपरिषदका अनुसार सर्वोच्च अदालतमै प्रधानन्यायाधीशसहित ४ न्यायाधीशको पद रिक्त छ।प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिस गर्ने निकाय संवैधानिक परिषद् हो । प्रधानमन्त्री अध्यक्ष रहने यो निकायमा सभामुख, प्रधानन्यायाधीश, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य हुन्छन् ।सर्वोच्चमा २९ हजार एक सय रहेकोमा दुई वर्ष पुरानो १६ हजार नौ सय १६ र पाँच वर्ष नाघेको चार हजार पाँच सय ६२ थान मुद्दा छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८