माघ २७, २०७९
घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।
महाप्रबन्धक ठाकुरले थाई स्माइल एअरलाइन्सका प्रतिनिधिसँग घुस मागेको आरोपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बन गरेको हो। गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडिओ प्राप्त भएपछि छानबिनका लागि निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले बताएका छन्।
घटनाको जाँचबुझ गर्न मन्त्रिस्तरीय निर्णयबाट महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको प्रवक्ता केसीले जनाएका छन्। मन्त्रालयले गरेको निलम्बनको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि पठाइएको जनाइएको छ।
यससँगै ठाकुरमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरिएको प्रवक्ता केसीले जानकारी दिएका छन्। ठाकुर २०७६ फागुन ६ गते महाप्रबन्धक नियुक्त भएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८