• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रपति आफैसँग राख्ने माओवादी दाउ, कांग्रेस पनि दाहालसँग सशंकित

  • खबरदाता

राष्ट्रपति आफैसँग राख्ने माओवादी दाउ, कांग्रेस पनि दाहालसँग सशंकित

माघ २६, २०७९

 

 

काठमाडौँ । पहिलो र दोस्रो ठूलो दलसँग बहुमत नभएको फाइदा उठाउँदै तेस्रो ठूलो दलले एकपछि अर्क लाभ उठाउनु नेपाली राजनीतिमा नयाँ होइन । २०५२ सालपछि तत्कालीन राप्रपाका दुई खेमाले पालैपालो एमाले र कांग्रेसलाई उपयोग गरी सत्ताको नेतृत्व गरेका थिए । अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल त्यसबेलाका पूर्वपञ्चहरुलाई नै बिर्साउँदै सत्ताको बिचौलियागिरीमा नयाँ कीर्तिमान राख्दै छन् ।संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालले एकअर्कालाई रोक्न खोज्दा सरकारको नेतृत्व संसदको तेस्रो ठूलो दल नेकपा माओदावी केन्द्रको हातमा त पुग्यो नै । त्यसबाट हौसिएर राष्ट्रपतिमा पनि माओवादीले त्यस्तै खेल खेल्दै छ ।

कांग्रेस र एमाले दुवैलाई जिल्याउने नियतका साथ प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाल राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएका छन् र यसका लागि कांग्रेस र एमालेसँग समानान्तर छलफलमा छन् ।गत पुस १० गते तत्कालीन सत्ता गठबन्धनबाट माओवादी एकाएक कांग्रेसको साथ छाडेर एमालेको बार्दलीमा पुगेको थियो । एमालेले पनि विगतका सारा धोका र तीता–अमिला प्रसंग बिर्सेर एकै भेटमा सहर्ष माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको पद उपहार दिएको थियो । त्यतिखेर एमालेले राष्ट्रपति र सभामुख पद पाउने सहमति भएको थियो ।सभामुखको निर्वाचनसम्म त माओवादी सहमतिमा इमानदार बन्यो । जब राष्ट्रपतिको चर्चा चल्यो, अनि प्रधानमन्त्री दाहालले आफ्नो पूर्ववत् स्वभावअनुसारै कुरा फेर्न थाले । खासगरी कांग्रेसले समेत उनलाई विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको रटानमा लागे ।

कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गरिरहेको छ । हालको सत्ता गठबन्धन कायम रहेमा आफ्नो उम्मेदवार जित्दैन भन्ने कांग्रेसलाई राम्रोसँग थाहा छ । तर कांग्रेसको एउटै आशा भनेको दाहालको त्यही रटान हो । उनी भनिरहेका छन्( राष्ट्रपति त राष्ट्रिय सहमतिमा चयन हुनुपर्छ । अझ माओवादीले स्थायी समितिको बैठकबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ ।माओवादीले यसो भनिरहँदा उसले कांग्रेसलाई पनि स्पष्ट शब्दमा वचन दिइसकेको छैन । कांग्रेसले हालको गठबन्धनबाट एमालेलाई बाहिर निकालेर पुरानो गठबन्धन ब्युँताउने प्रयास गरिरहेको छ । प्रधानमन्त्रीमा तत्काल दाहाललाई नै कायम राखेर राष्ट्रपति आफ्नो पार्टीको उम्मेदवार बनाउन खोजेको छ ।

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने अवस्थामा रामचन्द्र पौडेल नै प्रमुख दाबेदार हुन् । कतिपय कांग्रेस नेताले देउवालाई नै अघि सर्न सुझाव पनि दिइरहेका छन् । तर यी कुनै पनि नाममा दाहालले खुलेर समर्थन जनाएका छैनन् ।बरु दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निरन्तर छलफलमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट बहिर्गमन, सुदूरपश्चिममा एमाले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन परिरहेको हम्मे अनि राष्ट्रपतिमा दाहालको अस्पष्टताले दाहाल र ओलीबीच पर्याप्त अविश्वास र दूरी बढाइसकेको छ । यद्यपि दाहालले ओलीलाई आफूसँग इंगेज राखिरहेकै छन् । सम्बन्ध पूरै विच्छेद गरिसकेका छैनन् । यसबाट दाहालले दुईतिरै समानान्तर छलफल गरेर आफूअनुकूल पात्र अघि सार्न खोजिरहेको प्रस्ट हुन्छ ।कांग्रेस र एमाले दुवैलाई राष्ट्रपति नदिन दाहालले साझा उम्मेदवार वा गैरराजनीतिक नामको पासा फाल्न सक्ने सम्भावना प्रबल देखिएको छ । कांग्रेसले नै राष्ट्रपति पाउने हो भने पनि कृष्ण सिटौला वा त्यस्तै अरु कोहो पात्र, जो आफ्ना लागि पनि सहज हुन सक्ने पात्र अघि सार्नुपर्ने सर्त राख्न सक्नेछन् ।

एमालेबाट पनि ओलीको खल्तीको मान्छे नभई सुवास नेम्बाङ वा यस्तै अरु कोही व्यक्तिको नाम लिन प्रचण्ड पछि पर्ने छैनन् । त्यसो त उनले माधव नेपाल र बाबुराम भट्टराईको पत्ता पनि फाल्न सक्नेछन् । यी दुई नेतालाई कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँताएको अवस्थामा मात्र राष्ट्रपति बनाउन सकिन्छ । जुन कुरा कांग्रेसबाट त्यति स्वीकार्य नहुन सक्छ ।प्रधामन्त्रीलाई विश्वासको मत दिनेदेखि राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी उम्मेदवारलाई निर्विरोध बनाउँदा समेत माओवादीले कुनै संकेत नदिँदा कांग्रेसमा भने दाहालप्रति शंकाको दृष्टिले हेर्न थालिसकेको छ । माओवादीको द्वैध भूमिकाकै कारण कांग्रेस सभापति देउवाले विपक्षी गठबन्धनमा ठोस प्रस्ताव राख्न सकेका छैनन् ।कांग्रेस र एमाले दुवैले दाहाललाई शंका गर्ने अर्को कारण हो– सरकारमा नै रहेर उपगठबन्धन बनाउने प्रयास गर्नु ।

जसपा र नेकपा एसलाई समेटेर उपगठबन्ध बनाउन प्रयास गरेर दाहालले आफ्नो मोलमोलाइ शक्ति बढाउँदै छन् । उनको यो प्रयास पनि कांग्रेस र एमालेलाई समदूरीमा राखेर आफ्नो दुनो सोझ्याउने रणनीति हो । यस रणनीतिमा माओवादी सफल भएमा कांग्रेस र एमाले दुवैले राष्ट्रपतिको निर्वाचनमा पनि हेरेको हेर्‍यै हुनेछन् । आफूलाई शक्तिको केन्द्रमा राख्ने र निर्णायक बनिरहने दाहाल रणनीतिका शिकार फेरि पनि कांग्रेस र एमाले नै हुनेछन् ।

  • प्रकाशित मिति : माघ २६, २०७९, बिहीवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८