माघ २०, २०७९
सत्ता गठबन्धन संकटमा परेको छ । गठबन्धन संकटमा परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारको भविष्य पनि अन्यौलमा परेको छ ।
कांग्रेसले २६ पुसमा प्रचण्डलाई संसदमा विश्वासको मत दिएपछि एमाले चिढिए पनि पर्ख र हेरको नीतिमा थियो । खासगरी आगामी राष्ट्रपतिको चुनावमा माओवादीको भूमिकाका आधारमा थप निर्णय गर्ने योजनामा एमाले थियो । प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिएर अगाडि बढ्ने कोसिसमा रहेका बेला एमाले कुनै पनि हालतमा राष्ट्रपति चाहिरहेको छ ।
तर, एमाले र माओवादीबीचको रस्साकस्सी जारी रहेका बेला पछिल्ला दुई घटनाले गठबन्धन झनै संकटमा परेको हो । पहिलो कारण हो, रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको धम्की । सर्वोच्च अदालतको आदेशका कारण सांसद पदसँगै गृहमन्त्री पद गए पनि रवीले नेपाली नागरिकता पाइसकेका छन् । उनी पुनः गृहमन्त्री बन्न चाहन्छन् । यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि आर्शीवाद छ । तर, प्रधानमन्त्री प्रचण्डले फैसलाको पूर्ण पाठ नआउन्जेलसम्म कुनै निर्णय नहुने भन्दै टारिदिएपछि रवी चिढिएका छन् । २० सिट रहेको रवी नेतृत्वको दलबाट अहिले पनि सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री छन् ।
तर, रास्वपा कुनै बेला सरकारबाट बाहिरिन सक्ने देखिन्छ । रास्वपाको बिहीबार बसेको संसदीय दल र केन्द्रीय समिति बैठकले दुई दिन पर्खने निर्णय गरेको छ । रास्वपाले गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान लिँदै आएको छ ।
रास्वपाले उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन पनि माग गर्ने निर्णय गरेको छ । प्रण्डले सरकार छाड्ने निर्णय गर्दा राष्ट्रिय राजनीतिमै अस्थिरता आउन सक्ने भन्दै त्यसो नगर्न रवीलाई सम्झाएका थिए ।अर्को दल नागरिक उन्मुक्ति पार्टी पनि चेतावनी दिँदै हिडेको छ । रेशम चौधरीको रिहाइ भए मात्र सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने अडान राख्दै आएको यो दलले फेरि अर्को एजेण्डा अघि सारेको छ । यो दलका सांसद अरुण चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति सरकारसँग रुष्ट छ ।
यो दलले पनि चौधरीको रिहाइका लागि २४ घन्टे अल्टिमेटम दिएको छ । १० वर्ष अघि कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए । १० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
१६९ सांसदको समर्थनमा १० पुस प्रधानमन्त्री बनेका प्रचण्डले ११ पुसमा शपथग्रहण गरेका थिए । २६ पुसमा उनले नेमकिपाबाहेक प्रमुख प्रतिपक्षी कांग्रेससहित सदनमा २६८ सांसदबाट विश्वासको मत पाए । लगत्तै ३ माघमा २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरे । उनले अहिले पनि गृह, वन र खेलकुद मन्त्रालय आफैसँग राखेका छन् ।
सरकारमा सहभागी जनमत पार्टी पनि सहमतिअनुसार मन्त्रालय नपाएको भन्दै असन्तुष्ट छ । जनमतले उद्योग मन्त्रालय रोजे पनि अब्दुल खानलाई खानेपानी मन्त्रालय दिइएको छ । ६ सिट रहेको जनमतले प्रचण्डलाई सरकारबाट बाहिरिने अल्टिमेटम दिएको थियो । तर, ‘पछि अर्को जिम्मेवारी दिउँला’ भन्ने प्रधानमन्त्रीको आश्वासनपछि ११ माघमा खान खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार भएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८