माघ १४, २०७९
सर्वोच्च अदालतले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अक्षमता दर्शाइदिएको छ । मुद्दा हो, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवी लामिछाने हो ।४ मंसिरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय भएको थियो, लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए ।तर, लामिछानेले विदेशी मुलुक (अमेरिका)को नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराए पनि आयोगले यसबारे कुनै निर्णय गरेन ।
जबकि, निर्वाचन ऐन अनुसार योग्यता नपुगेका व्यक्तिको उम्मेदवारी आयोगले खारेज गरिदिन सक्थ्यो ।निर्वाचनको मितिसम्म आयोग अनिर्णित बन्यो । लामिछाने निर्वाचित भएर आएपछि आयोगले भन्यो, ‘निर्वाचन परिणाम आइसकेकाले अब यो विषय संवैधानिक अदालतबाट निरूपण गर्नुपर्ने हुन्छ ।’ चुनाव अघि नै उजुरी परेपनि मौन बसेको आयोग, निर्णय गर्नबाट पछि हट्यो ।
र, लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भयो । मुद्दा चलिरहेका बेला उनी उपप्रधान तथा गृहमन्त्री बने ।तर, सर्वोच्च अदालतले शुक्रबार लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरिदियो । योसँगै उनको सांसद, उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र संसदीय दलको नेता गरी चारवटा पद गुमेको छ । सर्वोच्चले उनलाई नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा गर्ने आदेश दिएको छ ।सर्वोच्चको यो फैसलाले लामिछाने गैरनागरिक भएको पुष्टि त भएको छ नै अर्कोतिर निर्वाचन आयोगको अक्षमता प्रदर्शन भएको छ ।निर्वाचन आयोगले समयमै निर्णय नगरेकैले अब चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।
सर्वोच्चको फैसला आइसकेपछि सरकारसँग परामर्श गरेर कानुनबमोजिम उपनिर्वाचन गराउने आयोगका एक आयुक्तले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार अब ६ महिनाभित्र उपनिर्वाचन हुनुपर्छ ।लामिछानेले चितवन–२ मा कांग्रेसका नेता एवं तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठ र एमालेका नेता कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए । उनी माओवादी अध्यक्षपुष्कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ३२ दिन उपप्रधान एवं गृहमन्त्री पनि बने ।तर, अब उपनिर्वाचनमा उम्मेदवार बन्न लामिछानेले नेपाली नागरिक लिनुपर्नेछ । त्यसबाहेक राहदानी सम्बन्धी उजुरी पनि प्रहरीमा छ । यो विषय छानबिनकै अवस्थामा छ । यदि प्रहरीले राहदानी विषय पनि छानबिन अगाडि बढाए लामिछानेलाई अहिलेका पदहरुमा फर्किन मुस्किल पर्नेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८