माघ १३, २०७९
बारम्बार पुष्टि गरेको छ कि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेस र यसमा पनि सभापति शेरबहादुर देउवासँगको सहकार्य फापेको छैन । कांग्रेससँगका हरेक सहकार्यले माओवादीको साख गिरेको छ । पार्टी धुजाधुजा भएको छ । स्वयं प्रचण्डसमेत धेरै कुरामा बदनाम भएका छन् । कांग्रेससँग मिलेर लडेका चुनावमा समेत अपेक्षित नतिजा आएको छैन ।
२०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले कांग्रेसबाट धोकाबाहेक केही पाएन । जनताले पनि कांग्रेससँगको तालमेललाई अस्वीकृत गरिदिए । भरतपुर महानगरपालिकामा प्रचण्डले आफ्नी छोरीलाई जिताउन अनेकन तिकडम गर्नुपर्यो । अवस्था यस्तो आयो कि प्रचण्डसमेत देशभरको कुनै पनि निर्वाचन क्षेत्रबाट जित्न नसक्ने भए । बाध्य भएर उनले एमालेको फेर समाते । एमालेसँग एकता गर्ने वाचा सार्वजनिक मञ्चबाटै गरे । जब उनले ओलीको हात समाते, प्रचण्ड मात्र होइन, माओवादीको नै उद्धार भयो ।
राष्ट्रिय राजनीतिबाट बढारिँदै इतिहासका पानामा सीमित हुनै लागेको माओवादीले झण्डै कांग्रेसकै बराबर सिट जित्यो । प्रत्यक्षतर्फ त कांग्रेसलाई पनि उछिन्यो ।यसपालिको चुनावमा माओवादीले एमालेसँग यसरी दुस्मनी मोल्यो कि चुनावमा एक ठाउँमा उभिएर भोट माग्न सक्ने अवस्था नै थिएन । जब उसले एमालेलाई चिढ्यायो, फेरि माओवादीको अधोगति सुरु भयो । कांग्रेसले जसोतसो केही सिट बढायो । तर माओवादी नराम्ररी पछारियो । धेरै ठाउँमा उसलाई नाक जोगाउन पनि हम्मे पर्यो । जबकि कांग्रेस, माओवादीलगायत पाँचवटा दल, प्रहरी प्रशासनसहितको राज्यसंयन्त्र र राज्यको स्रोतसाधन समेत एकातिर हुँदा पनि एमाले एक्लैले आफ्नै संगठनको बलमा राम्रो नतिजा हासिल गर्यो । समानुपातिकमा एमाले पहिलो दल बन्यो भने प्रत्यक्षतर्फ पनि कांग्रेसकै हाराहारी सिट जित्न सफल भयो । ठूलो घाटा बेहोर्ने माओवादी मात्र भयो ।
अहिले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन पनि एमाले नै चाहियो । एमाले अध्यक्ष ओलीको उदारताले नै उनलाई तेस्रोपल्ट सत्ताको बागडोरमा पुर्यायो । एमालेसँग माओवादीको सैद्धान्तिक आधार मिल्छ । मतदाताको नाता मिल्छ । त्यसैले एमालेसँग प्रचण्डको राजनीतिक र भौतिक सुरक्षासमेत जोडिएको छ । प्रधानमन्त्री भएर केही काम गरिसकेपछि प्रचण्डको अन्तिम इच्छा भनेको यो देशको राष्ट्रपति बन्ने नै हो भन्ने कतै छिपेको छैन ।
शासन सत्ता र शक्तिभन्दा टाढा रहँदा प्रचण्डको यो ठाँट त रहने छैन नै, अनेकन झमेलाले पनि उनलाई चैनको निद्रा सुत्न दिने छैनन् ।दाहालका विरुद्ध अहिले पनि अख्तियारदेखि अदालतसम्म अनेकन मुद्दा छन् । अन्तर्राष्ट्रिय समुदायले पनि औँला ठड्याइरहेकै छ । धेरैवटा संघसंस्थाले उनका विरुद्धअनेकन लगत राखेका छन् । प्रचण्डको जीवनकालभरिमा यी कुनै पनि कुराले सहजै छाड्नेवाला छैनन् ।उनलाई केही कुराले सुरक्षा दिन्छ भने त्यो भनेको राजनीतिक वा पदीय शक्ति नै हो । अहिलेसम्म उनलाई जोगाएको पनि यही कुराले हो । तर उनको त्यो शक्ति क्षयोन्मुख छ । पार्टी लगभग बिलाउने चरणमा पुगिसकेको छ । अहिले नै पनि उनले धेरै चतुर्याइँ देखाउन खोजे भने पार्टी एक रहन मुस्किल छ । कुनै पनि बेला उनको पार्टीको एउटा उल्लेख्य हिस्सा सम्बन्ध विच्छेद गर्न तयार छ । त्यसैले पनि उनका लागि यसपालिको सत्ता यात्रा तरबारको धारमुनि पुर्याएको छ ।
ठिक यही बेला प्रचण्डले खुट्टा कमाएका छन् । प्रधानमन्त्रीमा कांग्रेसले विश्वासको मत दिएपछि उनी एमालेबाट टाढिन खोजेको देखिएको छ भने कांग्रेसतिर उनको झुकाव बढ्दै गएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि नयाँ शक्ति समीकरणका लागि प्रयास गरिरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्रमा बिहीबारबाट अर्थपूर्ण छलफलको सुरुवात भएको छ । सरकार बनाउन कांग्रेसको साथ छाडेर एमालेतिर लहसिएको माओवादीले अब राष्ट्रपति चुनावमा एमालेलाई साथ दिन नसकिने जनाउ दिएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा एमालेलाई समर्थन गर्न नसकिने संकेत गरेका हुन् । उनले नयाँ गठबन्धन र सत्ता साझेदारीबारे पार्टीलाई जानकारी गराउने क्रममा सभामुख र राष्ट्रपति एकै पार्टीबाट बनाउनुअघि गम्भीर भएर सोच्नुपर्ने बताएका हुन् । भोलि प्रधानमन्त्री पनि एमालेले पाउँदा राज्यका प्रमुख तीनै पदमा एमाले नै हुन्छ र त्यो परिस्थितिबारे अहिले नै सोच्नुपर्ने उनको भनाइ थियो । बैठकमा सहभागी एक स्थायी समिति सदस्यले दिएको जानकारी अनुसार दाहालले मन्त्रालय भागबन्डामा पनि बेखुसी प्रकट गरेका थिए । एमालेले राम्रा मन्त्रालय आफूसँग राखेको र मन्त्रीको मर्यादाक्रम पनि मिलाउन नसकेको उनको भनाइ थियो । बैठकमा अन्य नेताहरुले पनि राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने धारणा राखेका छन् । स्थायी समिति सदस्य देवेन्द्र पौडेलले राष्ट्रपतिमा कांग्रेससहितका दलहरुबीच सहमति खोज्नुपर्ने विषयमा छलफल भएको बताए ।
संविधानको भावनाअनुरुप सबै दलको सहमति जुटाएर राष्ट्रपतिमा साझा व्यक्तित्वलाई अघि सार्न सकियो भने सम्भावित दुर्घटना रोक्न, संविधानको रक्षा गर्न र संसदलाई कुशलतापूर्वक पाँच वर्ष लैजान सकिनेमा धेरै नेताले जोड दिएको पौडेलको भनाइ छ । बैठकमा दाहालले कांग्रेस छाडेर एमालेसँग मिल्नुको कारणबारे प्रतिवेदन पनि पेस गरेका थिए । बैठक शुक्रबार बिहान फेरि बस्नेछ । यही बैठकले अब राष्ट्रपतिमा सर्वसम्मत व्यक्ति खोज्ने निर्णय गर्ने सम्भावना प्रबल छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८