• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जसपा र नागरिक उन्मुक्तिको असन्तुष्टिले सत्ता गठबन्धन जोखिममा

  • खबरदाता

जसपा र नागरिक उन्मुक्तिको असन्तुष्टिले सत्ता गठबन्धन जोखिममा

माघ ६, २०७९

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएका छैनन् । जनमत पार्टीले आफूलाई दिएको मन्त्रालयमा चित्त बुझाएको छैन । ती पार्टीले प्रतिनिधिसभाको बैठकमै आफ्नो असन्तुष्टि पोखे । जनमत पार्टीका अध्यक्ष सीके राउतले माओवादी केन्द्र र नेकपा एमालेमाथि मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै असन्तुष्टि मात्र जनाएनन्, मधेशमा शीतलहरले नागरिकको ज्यान गइरहेको स्थिति अन्त्य र किसानले झेल्नुपरेको मल अभावको समस्या समाधानमा किन सहमति खोजिंदैन भनी प्रश्न गरे ।

२०६३ मा अन्तरिम संविधान जारी भएपछि मधेसमा विद्रोहको लहर उर्लिएको दिन । मधेस आन्दोलनको रापतापबाट गलेर परम्परागत दल देशलाई संघीयतामा लैजान मात्र होइन, मधेसका मुद्दामा समान धारणा बनाउन सहमत भए । तर, मधेस आन्दोलनबाट उदाएका दल चुनावैपिच्छे बदलिइरहे । जसका कारण मधेशको राजनीतिक परिदृश्य नै बदलिन पुगेको छ ।

अहिले मधेस राजनीतिको अग्र भागमा सीके राउत आइपुगेका छन् । सीके तिनै पात्र हुन्, जसले मधेस आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई यसपालिको प्रतिनिधिसभा निर्वाचनमा पराजित गरे । संयोग नै मान्नुपर्छ, उनै सीकेले प्रतिनिधिसभाको बिहीबारको बैठकमा मधेस विद्रोह स्मरण गराइदिए । त्यति मात्र होइन, उनले मधेस विद्रोहमा दिवंगत भएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गराएर आफूलाई त्यही आन्दोलनको उत्तराधिकारी मात्रै करार गरेनन्, सदनलाई विभाजित पनि बनाउने कोसिस गरे ।

मधेसमा मारिएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गर्न आग्रह गर्दा सदनभित्र आधा उठे । आधा बसिरहे । सरकार नै विभाजित देखियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री उठिरहँदा प्रधानमन्त्री दाहालले भने उठ्नु र बस्नुको अवस्थामा रहे । उनले बिहीबार आफूलाई मत चाहिँदा राष्ट्रिय सहमतिको राग अलाप्ने र खास मुद्दामा पायक पर्ने दलहरूसँग साँगगाँठ गरेर अरूलाई उपेक्षा गर्ने राजनीतिक चरित्रलाई रोस्ट्रममा उभिएर गतिलै झापड पनि हाने ।

पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गर्दा जनता समाजवादी, जनमत र नागरिक उन्मुक्तिसँग जुन उत्साह थियो । त्यो अहिले सेलाउँदै गएको छ । जनता समाजवादीले त सत्ता र विपक्षी गठबन्धनसँग समानान्तर छलफल गरेर दबाब बढाइरहेकै छ । जनमतले आफूलाई दिएको मन्त्रालयमा जान नमानेर असन्तोष पोखिरहेको छ ।

पश्चिम तराईमा देखापरेको नागरिक उन्मुक्ति भने द्विविधाग्रस्त छ । टीकापुर नरसंहारमा जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको सर्त राखेको उसले सत्ता गठबन्धनसँग मोलमोलाई कायमै राखेको छ । जसको न्यायका लागि पार्टी खोलेर संसद्को यात्रा तय गरेको हो, उसैलाई छुटाउन नसकेपछि नागरिक उन्मुक्तिले अनेक तरहले रोष प्रकट गरिरहेको छ ।

नागरिक उन्मुक्तिकै कारण सुदूरपश्चिमा सभामुखको चुनाव तीन पटक गर्नुपर्‍यो । गठबन्धनभित्र हुर्कंदै गरेका यस्ता असन्तुष्टिलाई सम्बोधन नगर्ने हो भने राष्ट्रपति चुनावसम्म एमाले–माओवादी गठबन्धनका लागि परिस्थिति अनुकूल नै रहिरहन्छ भनेर ढुक्क हुने अवस्था छैन । किनभने अहिलेसम्म माओवादी–कांग्रेस गठबन्धन एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक चातुर्य र कांग्रेस नेतृत्वको मूर्खताले मात्र टिकाइरहेको छ ।

  • प्रकाशित मिति : माघ ६, २०७९, शुक्रवार ०६:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८