माघ ५, २०७९
काठमाडौं। प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदैछ । प्रतिनिधिसभाको सभामुख पदका लागि दुई जनाको मात्र उम्मेदवारी परेको छ ।सभामुखको निर्वाचन बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।
सत्ता साझेदार दलका तर्फबाट नेकपा ९एमाले०का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेकाले दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
सत्तारुढ दलको समर्थन पाएका घिमिरे सभामुख बन्ने लगभग निश्चित जस्तैछ । न्यौपानेलाइ भने अहिलेसम्म कांग्रेसको मात्रै समर्थन देखिन्छ । गठबन्धन बाहेकका अन्यदलहरूले पनि समर्थन गर्ने कांग्रेसको विश्वास छ । सभामुखका दुबै उम्मेदवारले आफूले जित्ने दाबी गर्दै आएका छन् ।
सभामुखको निर्वाचनमा २७५ सदस्यले मतदान गर्छन् । कांग्रेस टेकबहादुर गुरुङ निलम्बनमा परेकाले मतदान गर्न पाउँदैनन् । महोत्तरीका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजी सूचीमा रहे पनि मतदान गर्न पाउँछन् । माओवादी सांसद वर्षमान पुनः अस्पताल भर्ना भएकाले मतदान गर्न सक्ने अवस्थामा छैनन् । २७२ मत सभामुखमा खस्न सक्छ, जसबाट बहुमत अर्थात् १३७ मत प्राप्त गर्ने व्यक्ति सभामुखमा विजयी हुन्छ ।
अहिलेको अंकगणितलाई हेर्दा सत्तापक्षसँग सुविधाजनक बहुमत छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा एमाले उम्मेदवार देवराजले १४५ मत पाउने देखिन्छ । यसमा सत्ता गठबन्धन घटकमध्ये १२ सिट रहेको जनता समाजवादी, ६ सिटको जनमत पार्टी र ४ सिटको नागरिक उन्मुक्ति पार्टीले पनि एमाले उम्मेदवारलाई नै मतदान गरेमा २२ सिट थपिन गई देवराजका पक्षमा १६७ सिट पर्न जान्छ । तर, यी दलहरु मन्त्रिपरिषद गठनमा असन्तुष्ट देखिएकाले सभामुखको चुनावमा प्रस्टसँग खुलिसकेका छैनन् ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशम्शेर जबराले बैठक सञ्चाजन गर्दै आएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८