माघ ४, २०७९
काठमाडौँ- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुख पदमा उम्मेदवारी दिएकी छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेर न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।
उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन्।
न्यौपानेलाई नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीले समर्थन गरेको छ।
यता सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन्।
घिमिरेको प्रस्तावकमा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ रहेका छन् भने समर्थकमा उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र हितराज पाण्डे रहेका छन्।
मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ।
सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधिसभा बैठकमा हुनेछ। प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।
संवैधानिक व्यवस्थाअनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधिसभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८