माघ ३, २०७९
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएको एक महिना नपुग्दै गठबन्धनमा खटपटको संकेत देखा पर्न थालेका छन् । विशेषगरी २६ पुसमा प्रमुख प्रतिपक्षी कांग्रेसले विश्वासको मत दिएपछि गठबन्धनको मुख्य घटक एमाले झस्किएको थियो ।
गठबन्धनभित्र सहमति नहुँदा प्रचण्डले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।तर, आफ्ना संरक्षक रेशम चौधरीको रिहाइलाई मुख्य बटमलाई बनाएको नागरिक उन्मुक्ति पार्टी पनि गठबन्धनसँग विच्किएको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गरेको नागरिक उन्मुक्ति सरकारमा गएको छैन । त्यहाँ एमालेले मुख्यमन्त्री पाउँदा माओवादीले सभामुख पाएको थियो ।
सुदूरपश्चिममा सभामुख चयनका लागि २८ पुसमा मतदान भएको थियो । तर, सरकारको नेतृत्व गरिरहेको दल एमालेका सांसद चक्र मल्ल र सरकारलाई समर्थन गरेको अर्को दल नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मतदानमा भाग लिएनन् । जसकारण, ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभा सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २९ मत पाउनुपर्ने भए पनि गठबन्धनबाटै धोका भएपछि उनी चुनिएनन् ।शनिबार फेरि चुनाव भयो ।
तर, शनिबार नागरिक उन्मुक्ति पार्टीले अर्को लफडा झिक्यो । सुदूरपश्चिम प्रदेश सरकार मात्र होइन संघ सरकारलाई पनि समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी तटस्थ बसिदिएपछि सुदूरपश्चिम प्रदेशसभाले शनिबार पनि सभामुख पाएन । भण्डारीले २२ मत पाए ।यद्यपि, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी छन् । सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएकी हुन् ।
त्यति मात्र होइन नागरिक उन्मुक्तिले लुम्बिनी प्रदेशमा पनि गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिएको छ । त्यहाँ गठबन्धनबाट माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध भइसकेका छन् । गठबन्धनले उपसभामुख राप्रपाकी मेनुका खाँण केसीलाई अघि सारे पनि नागरिक उन्मुक्तिले पनि उम्मेदवारी दिएको छ । नागरिक उन्मुक्तिका निर्मलादेवी थारु चौधरीले उम्मेदवारी दिएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विश्वप्रेम पाठकलाई उम्मेदवार बनाएको छ ।मंगलबार मतदान हुनेछ।
केन्द्रमा मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सत्ता गठबन्धनको बैठक बसेको थियो । तर, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता भने सहभागी भएनन् । बैठकमा दुई दल सहभागी नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८