• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सभामुखको लोभमा प्रतिपक्षको हैसियतसमेत गुमाएको कांग्रेस माओवादीसँग हारगुहार गर्दै

  • खबरदाता

सभामुखको लोभमा प्रतिपक्षको हैसियतसमेत गुमाएको कांग्रेस माओवादीसँग हारगुहार गर्दै

पुस २९, २०७९

 

प्रतिनिधिसभामा सबैभन्दा धेरै सिट जिते पनि नेकपा माओवादी केन्द्रलाई साथमा राख्न नसक्दा नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशमा सत्ताबाहिर पुग्यो । प्रधानमन्त्री र राष्ट्रपति छाड्नै नसकिने कांग्रेस नेताहरुका अडानले कुनै पनि पद नपाउने स्थिति बन्यो । माओवादी केन्द्रसँगको गठबन्धन नटुटेको भए यी दुईमध्ये एक पदका साथै चार प्रदेशको मुख्यमन्त्री पनि कांग्रेससँगै हुन्थ्यो । अन्तिम समयमा गठबन्धन टुटेपछि सत्तामा ढिम्किनै नसक्ने अवस्था बन्यो ।

दोस्रो ठूलो दल नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेपछि रन्थनिएको कांग्रेस संसदीय व्यवस्थाका सम्पूर्ण मूल्यमान्यतालाई तिलान्जली दिएर आफूविरुद्धको गठबन्धनबाट कुनै एक पदको भाग पाउनका लागि माओवादीसँग हारगुहार गरिरहरेको छ । यसका लागि सत्ता गठबन्धनभित्र अविश्वास बढाउने रणनीतिमा लागेको छ । खासगरी उसले माओवादी केन्द्र र नेकपा एमालेबीच दरार उत्पन्न हुने कदम चालिरहेको छ । उसलाई नेकपा एकीकृत समाजवादीले पनि साथ दिइरहेको छ ।

प्रतिपक्षमा बस्ने भन्दै आएको नेपाली कांग्रेसले पुस २६ गते संस्थागत निर्णय गरेरै प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दियो । विश्वासको मत पनि दिने तर प्रतिपक्षमा पनि बस्ने उसको निर्णयलाई राजनीतिक अपरिपक्वता र द्वैध चरित्रका रुपमा अर्थाइएको छ । उसले भने स्थायित्वका लागि आफूहरुले उक्त निर्णय गरेको भन्दै केही पदका लागि मोलमोलाइ सुरु गरेको छ ।

प्रदेशमा लिएका निर्णय र बिहीबार मात्र शेखर कोइरालाले विराटनगर पुगेर दिएका अभिव्यक्ति हेर्ने हो भने कांग्रेस सत्ताबाट एक इन्च पनि पर बस्न नचाहेको प्रस्टै देख्न सकिन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर दाहाललाई विश्वासको मत दिएको कांग्रेसले हालको गठबन्धन भत्काएर आफू सत्तामा जान खोजेको बुझ्न गाह्रो छैन ।

सत्ता गठबन्धन अविश्वास बढाउन कांग्रेसले विभिन्न प्रदेशमा मा‌ओवादीका भागमा परेका कतिपय पदमा कांग्रेसले अप्रत्यक्षरुपमा सहयोग गरिरहेको छ । उदाहरणका लागि प्रदेश १ को सभामुख माओवादी केन्द्रको भागमा परेकामा कांग्रेसले उम्मेदवारी नै दिएन । माओवादी केन्द्रका बाबुराम गौतम बिहीबार सर्वसम्मत भए । तर बिहीबार नै कांग्रेसले बागमती प्रदेशको सभामुखमा भने राप्रपाका भुवन पाठकविरुद्ध उम्मेदवारी दियो । अघोषितरुपमा मा‌ओवादीलाई सहज हुने काम गरिरहे यो गठबन्धनमा अविश्वास बढ्ने र त्यसको लाभ आफूलाई प्राप्त हुने आशा कांग्रेसका नेताहरुको छ ।

नेकपा एकीकृत समाजवादीले पनि कांग्रेसकै नीति अपनाइरहेको छ । केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने भनेको एकीकृत समाजवादीले बाग्मती र कर्णालीमा माओवादी केन्द्रका नेतालाई मुख्यमन्त्री बनाउन समर्थन गरेको छ । जबकि एमाले मुख्यमन्त्री बनेका प्रदेशमा भने एकीकृत समाजवादीले समर्थन गर्न आवश्यक ठानेन ।

अहिलेको भूमिकाले कांग्रेस र एकीकृत समाजवादी एमालेलाई सत्ता गठबन्धनबाट बाहिर पठाउन न्वारानदेखिकै बल लगाइरहेका छन् । सके प्रदेशसभा सदस्यसहितको मतबाट चुनिने राष्ट्रपति पद जसरी पनि हत्याउने, त्यो सम्भव नभए सभामुख पदमै भए पनि चित्त बुझाउने कांग्रेसको चालबाजी देखिन्छ । कांग्रेसले एकीकृत समाजवादीसहितका केही दललाई आफ्नो पक्षमा पार्ने, आफ्ना तर्फबाट उम्मेदवार उठाउने र माओवादीलाई पनि हात लिने रणनीतिका साथ राष्ट्रपति पद ताकेको छ ।

राष्ट्रपति पद नपाएपछि एमालेले दाहाललाई दिएको समर्थन फिर्ता लिने र आफू सत्तामा जान पाउने कांग्रेसको विश्लेषण छ । यस्तै प्रदेश सरकारमा कांग्रेसको पुनरागमन हुन सक्छ । तर कांग्रेस र एकीकृत समाजवादीले सत्ता गठबन्धनमा रोप्न खोजेको अविश्वासको बिउलाई मलजल गर्ने नगर्ने दाहालको हातमा छ । उनले साथ नदिए कांग्रेस र एकीकृत समाजवादीको योजना तुहिनेछ । सत्तालोलुप यस चरित्रले कांग्रेसलाई जनताको नजरबाट फेरि पनि गिराउनेछ ।

  • प्रकाशित मिति : पुस २९, २०७९, शुक्रवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८