• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ब्याजदर घटाउन बैंकहरू तयार, सेयर बजारमा कस्तो पर्ला असर ?

  • खबरदाता

ब्याजदर घटाउन बैंकहरू तयार, सेयर बजारमा कस्तो पर्ला असर ?

पुस- २८, २०७९

 

निजी क्षेत्रको निरन्तरको दबाबस्वरुप बैंकहरु ब्याजदर घटाउन तयार देखिएका छन् । सरकार बदलिएसँगै नेपाल राष्ट्र बैंकसमेत ब्याजदर कम गर्न सकारात्मक देखिएको छ । यसले १२ प्रतिशत नाघेको मुद्दती निक्षेपको ब्याज माघबाट फेरि ११ प्रतिशतमा झर्ने सम्भावना बढेको छ । वाणिज्य बैंकका कार्यकारी प्रमुखहरुको संस्था नेपाल बैंकर्स संघले ब्याजदर घटाउने समझदारी जुटाइसकेको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई असफल देखाउन गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढाउने गरी नीतिहरूमा चलखेल गरेको आरोप बैंकरहरुले लगाइरहेकै छन् । राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत् बैंकहरुमाथि ठूलै दबाब सिर्जना गरेको उनीहरु बताउँछन् । हुन पनि निक्षेपको ब्याजदर ११ प्रतिशतबाट नबढाउने बैंकरहरुको अडानले समेत त्यतिखेर काम गरेको थिएन ।

अब यो बढेको ब्याजदरलाई फेरि पुरानै अवस्थामा फर्काउन बैंकरहरु तयार भएका छन् । ब्याज घटाउन सञ्चालकहरुले पनि तीव्र दबाब दिँदै आएका छन् । पुसबाटै निक्षेपको ब्याजदर घटाउन बैंकका सञ्चालकहरुले गरेको प्रयास सफल हुन सकेको थिएन । तर अर्थमन्त्री फेरिएपछि गभर्नर एकाएक लचक भइदिए र अहिले ब्याजदर घटाउन सहमति दिएका छन् । वित्तीय प्रणालीमा पहिलेजस्तो नगद अभाव नरहेकाले आफैं पनि ब्याजदर घट्ने तर्क राष्ट्र बैंकका अधिकारीहरुले गरिरहेका छन् ।

ब्याज वृद्धिले यसबीचमा २ खर्ब हाराहारी निक्षेप बढेको पाइएको छ । तर यो वृद्धि नियमितभन्दा खासै धेरै होइन । उपभोगको खर्च घटाउने र बचत गर्ने परिस्थिति नभएपछि बैंकहरुमा अपेक्षित रकम अझै पनि आउन सकिरहेको छैन । निर्वाचनपछि पनि उच्च ब्याजदरको लाभ लिने गरी बैंकमा पैसा भित्रन नसकेको आकलन छ । बरु भारतीय बजारमा सस्तो ब्याजमा ऋण पाइने भएपछि नेपालबाट ठूलो रकम बाहिरिएको कतिपयको आँकलन छ । यसले ब्याज वृद्धिमा दबाब दिने केन्द्रीय बैंकको नीतिले तरलता बढाउन अपेक्षित भूमिका नखेलेको जानकारहरुको बुझाइ छ । बैंक सञ्चालकहरु पनि आफ्नै उद्योग व्यवसाय संकटमा पर्न लागेपछि मात्र ब्याज घटाउने लबिङमा लागेको देखिन्छ ।

उच्च ब्याजदरका कारण किस्ता तिर्नै नसक्ने अवस्था आएको भनेर देशभरिबाट व्यवसायीहरु राष्ट्र बैंक नेतृत्वको विरोध गरिरहेकै थिए । बैंकहरुले समस्यामा परेका ग्राहकमाथि प्रिमियमको नाममा उच्च ब्याजदर लादेको उनीहरुको गुनासो थियो । तर प्रिमियम दरलाई अंकुश लगाउन नसके पनि राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन नीतिगत कदम चालिसकेको छ । खासगरी सरकार परिवर्तनलगत्तै केन्द्रीय बैंक सिंहदरबारको लयमा हिँड्न थालेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालय व्यापारी रिझाउन उनीहरुकै लयको गीत गाउन कुनै संकोच मानिरहेको छैन ।

अहिले सरकारले प्रतिबन्ध लगाएका सामानहरुको आयात खुला गरिसकेको छ । स्वदेशी बजारमा बिक्री नै रोकिएका महँगा गाडीबाहेक अन्य वस्तुको लागि प्रतीतपत्र खोल्ने क्रम व्यापक बढेको छ । राष्ट्र बैंक पनि आयातमा लगाइएको मार्जिनसम्बन्धी सर्त खारेज गर्न तम्तयार छ । आर्थिक वर्षको मध्यसम्ममा लक्ष्यको एक चौथाइ मात्रै राजस्व उठाएको सरकारका लागि राजस्व बढाउनकै लागि बेपर्वाह आयात खोल्नुपर्ने दबाब छ । यसले आउँदा महिनामा तरलतामा असर पार्न सक्ने सम्भावना कायमै छ । तत्कालका लागि निक्षेपको ब्याज घटाइए पनि ऋणको ब्याज सस्तिन कम्तीमा ३ महिना लाग्नेछ । जबसम्म ऋणको ब्याज सस्तिने छैन, तबसम्म पुँजीबजारले बैंकर्स संघको निर्णयको लाभ पाउने छैन ।

तीन महिनासम्म पुँजीबजार र समग्र आर्थिक सूचक केकस्ता रहन्छन् भनेर अहिल्यै भन्न सकिने अवस्था छैन । एकातिर राज्यको ढुकुटी खोक्रो छ भने अर्कोतिर नयाँ सरकारले वितरणमुखी लोकप्रिय कार्यक्रम सार्वजनिक गरी ढुकुटीमै दबाब दिने पहिलो कदम चालेको छ । यसको असर उपभोक्ताले तिर्ने करदेखि बैंकमा हुने बचतसम्मै पर्नेछ । त्यसैले ब्याज घट्ने हल्लाकै कारण सेयर बजार चम्किने आकलन गर्नु बच्कनापन हुनेछ ।

  • प्रकाशित मिति : पुस २८, २०७९, बिहीवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८