पुस २१, २०७९
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको सहयोगमा प्रधानमन्त्री बनेपछि एकाएक शक्तिविहीन बनेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बार्गेनिङ पावर बढाउने धाउन्नमा लागेका छन् ।कांग्रेस नेतृत्वमा रहेको तत्कालीन गठबन्धनसँग सम्बन्ध विच्छेद गरेर प्रचण्ड एमालेसँग मिल्न गएपछि नेपाल नेतृत्वको एकीकृत समाजवादी पाखा लागेको थियो । एमालेसँग विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई एमाले अध्यक्ष केपी ओलीले स्पेस नदिएपछि यो दल गठबन्धनभित्र अटाउन सकेको थिएन ।
तर, प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिने दिन नजिकिँदै जाँदा नेपाल बार्गेनिङमा लागेका हुन् । बुधबार प्रचण्डले नेपालसँग विश्वासको मत मागे । जवाफमा आफूले पार्टीभित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने बताएको नेपालले बताए ।
‘उहाँले विश्वासको मत दिनुपर्यो भनेर माग गर्नुभएको छ । मैले यसबारे पार्टीमा छलफल गरेर टुंगो लगाउँछु भनेँ,’ उनले भने ।एकीकृत समाजवादीका एक नेताका अनुसार सरकारलाई समर्थन गर्ने तथा सरकारमै सहभागि हुने बारे निर्णय नगर्नुको एउटै कारण हो, बार्गेनिङ । प्रचण्डले विश्वासको मत लिने अघिल्लो दिनसम्म एकीकृत समाजवादी अनिर्णित रहिरहेमा सरकारसहित अन्य निकायमा पावर सेयरिङका लागि बार्गेनिङ गर्न सकिने यो दलको ठहर छ ।
त्यसैले स्थायी कमिटी र पोलिटब्यूरो बैठकबाट पनि सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्नेबारे कुनै निर्णय गरिएन । एकीकृत समाजवादीसँग १० सिट छ । नेपाल कांग्रेससँग मिलेर सरकार बनाउनुपर्ने जोडमा थिए । तर, कांग्रेसले पहिलो कार्यकालमा प्रचण्डलाई नसघाउदा उनी एमालेसँग मिल्न गएका थिए । प्रचण्ड ओलीसँग मिलेपछि नेपालले असन्तुष्टि पोखेका थिए ।
प्रचण्ड सरकारलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका १६६ र ३ जना स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंह गरी १६९ सांसदको समर्थन छ । गठबन्धनमै रहेका दलहरूभित्र पनि सरकारमा जाने कि नजाने भन्नेबारेमा समेत किचलो रहँदै आएको छ। राप्रपाले सरकारमा सहभागी हुने र नहुनेबारे निर्णय गरिसकेको छैन । यस्तो बेला प्रचण्ड विश्वासको मतका लागि जोडघटाउमा लागेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८